दस बर्से जनयुद्धमा राज्य संरचना र शासन परिवर्तनको खातिर आफ्नो ज्यानको प्रवाह नगरी युद्धमा होमिदै गर्दा जेल जीवन बिताउँदै बिद्यार्थी राजनीतिमा सक्रिय हुँदै खेलकुद क्षेत्रमा आफ्नो भविस्य खोज्ने गोविन्द घिमिरे नेपाल रग्वी संघको केन्द्रिय प्रशिक्षक तथा दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रिय सचिव समेत हुन् । नेपालमा रग्वीको अवस्था, आवश्यकता र सम्भावनाको बारेमा केन्द्रीय सचिव घिमिरेसँग पत्रकार सञ्जय श्रेष्ठसँगको कुराकानी :
नेपालमा रग्वी खेलको अवस्था कस्तो छ ?
– अन्तर्राष्ट्रियस्तरमा रग्वीको धेरै विकास भए पनि दक्षिण एसियाली मुलुकमा भारत र श्रीलंकामा राम्रो विकास भएको छ । नेपालमा २०५२ सालमा संस्थागत रुपमा विकास गर्न थालियो । २०५२ देखि २०६८ सम्म रग्वी निष्क्रिय नै रह्यो । २०६८ बाट भने रग्वीलाई निरन्तरता दिन थालियो । जुन हामीले दोस्रो राष्ट्रिय सम्मेलन गरी टकलाल घिसिङको अध्यक्षतामा अहिले काम गरिरहेका छौं । हामीले रग्विको म्याच गरिरहेका छौं । अहिले स्कुलस्तरमा टच रग्वी छन्, फिप्टिन ए साइड व्बाइज, सेभेन ए साइट व्बाइज र गर्ल दुबै छन् । केही समय अगाडि सेभेन ए साइडको म्याच गरायौं र अब पनि फिप्टिन एको खेल हुँदैछ । राखेपको दर्ताको हिसाबमा रग्वी ३७ औं स्थानमा छ । यसरी हेर्दा रग्वीको अवस्था नेपालमा राम्रो छ ।
२०५२ देखि २०६८ सम्मको बिचको अवधिमा रग्वी खेल किन निष्क्रिय रह्यो ?
– नेपालमा खेल क्षेत्रलाई राज्यले प्राथमिकता दिँदैन । नेपाल रग्वी संघसँग पर्याप्त बजेट छैन । नेपालमा रग्वीको लागि आवश्यक पूर्वाधार छैन । खेलाडी छैनन् । त्यसमा पनि रग्वी अति जोखिमपूर्ण छ । फुटवल, भलिवल वा क्रिकेट खेल्ले मेदानमा यो खेल हुन सक्दैन । त्यसले नै ठूलो असर पारिरहेको छ ।
२०६८ पछि सरकारले यो खेललाई कसरी हेरिरहेको छ ?
– अहिले पनि हिजोकै चुनौती छँदैछ तर हामीले पूर्ण आत्मविश्वासका साथ विभिन्न संघसंस्था तथा क्लवहरुसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौं । अन्तर्राष्ट्रिय स्तरमा रग्वीको छवि अगाडि आउँदै गर्दा नेपालमा पनि त्यसको ठुलो प्रभाव पर्यो र गतिविधि गर्न सजिलो भयो । राखेपको सदस्य सचिव युवराज लामा आफै रग्वीको अनुगमनमा आएपछि यो खेलको विकासले सकारात्मक रुप लिएको छ । केही बजेट पनि विनियोजन भएको छ, तर यो आवश्यकताभन्दा धेरै कम छ ।
नेपाल रग्वी संघको संरचना कस्तो छ ?
– नेपाल रग्वी सघ पुरानै संरचना केन्द्र, विकास क्षेत्र र जिल्ला छन् । अब छिट्टै संघीय संरचनामा जाँदै छौं । हामीले यसको निर्णय गरिसकेका छौं ।
रग्वी खेलको विकास कसरी गर्ने भन्ने योजना के छ ?
– सन् २०१३ देखि अहिलेसम्म ४ वटा स्कुलस्तरीय प्रतियोगिता सम्पन्न भएका छन् । सेभेन ए २ ओटा राष्ट्रियस्तरको व्बाइज र गर्लको म्याच गरायौं । अन्तर्राष्ट्रिय रुपमा हामीले एउटा एसियन क्वालिफाएरमा भाग लियौँ । अरु दुई वटा कतार र लाओसमा भएको खेलमा र अघिल्लो वर्ष भारतको चेन्नाइमा भएको दुई वटा सेभेन एमा सहभागी गरायौं । सन् २०१९ मा जापानमा हुने विश्वकपको ट्रफी प्रदर्शनका लागि नेपालमा ल्याउँदै छौं । सेना, प्रहरी र सशस्त्र प्रहरीमा पनि रग्वी टिम बनाएर अगाडि बढ्छौं । स्कुल, कलेजमा पनि रग्वी खेल राख्न लालायित छन् । सबै पालिकास्तरमा सञ्जालहरु निर्माण गर्छौ । भौतिक पूर्वाधार विकासका लागि पनि हामी सरकार तथा सबैलाई आग्रह गर्दैछौं । विश्वकपमा नेपालले पनि भाग लिने र रग्वीलाई नेपालको गौरवको खेल बनाउने उद्देश्यका साथ हामी लागिरहेका छौं । त्यसका लागि सरकार र सम्पूर्ण निकाय तथा खेलप्रेमीहरुलाई साथ सहयोगको आग्रह गरिरहेका छौं ।
नेपाल रग्वी संघ पनि राजनीति गर्ने थलो त बन्ने होइन ?
– हामी जो छौं रग्वी सम्बन्धी जानकार तथा दक्ष छौं । हामी राजनीतिक रुपमा फरक आस्था राख्ने भए पनि रग्वीको विकासमा दृढ र एकजुट छौं । रग्वीको विकास गर्नु नै हाम्रो साझा उद्देश्य हो ।
रग्वी खेल कत्तिको जोखिमपूर्ण छ ?
– हरेक खेलको आ–आफ्नै नियम हुन्छन् । नियममा बसेर खेल्दा जोखिम छैन । इग्ल्याण्डमा भएको विश्वकपलाई नै हेर्नुहुन्छ भने त्यहाँ अरु खेलमा भन्दा कम खेलाडी घाइते भए । यसो हुँदा रग्वी सुरक्षित र कम जोखिमयुक्त छ ।
।