बाँके । सुरुङ निर्माणका लागि अत्याधुनिक प्रविधिको टनेल बोरिङ्ग मेसिन (टिबिएम) को प्रयोग भएसँगै निर्माण कार्य द्रुत गतिमा बढेको छ । कार्य प्रगतिअनुसार आयोजना समयमै सम्पन्न हुने विश्वास लिइएको छ । आयोजनाका मुख्य कार्यहरुमा भेरी नदिमा डाइभर्सन हेडवक्र्स र १२ किलोमिटर सुरुङ तथा ४८ मेगावट विद्युत उत्पादनको लागि जलविद्युत गृह र अन्य सम्बन्धित संरचना निमार्ण गर्नु रहेको छ ।
जस अनुसार आयोजनाले मेसिन जडान गरेर खन्न सुरु गरेको करिब चार महिनामै टिबिएम (टनेल बोरिङ मेसिन)ले २४ सय मिटर सुरुङ खनिएको छ । नेपालमै पहिलो पटक भित्र्याइएको सुरुङ खन्ने अध्याधुनिक मेसिनबाट समयमै निर्माण पूरा गर्ने लक्ष्यअनुसार कामलाई तीव्रता दिइएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक ‘टनेल बोरिङ मेशिन’ टिबिएम प्रयोग गरिएको छ ।
अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम मेशिनका कारण निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । गत कात्तिक २० गते (नोभेम्बर ६, २०१७) देखि सुरुङ खन्ने काम सुरु भएको थियो । आयोजना निर्माणका तीन चरण छन् । सुरुङ खन्ने, बाँध निर्माण गर्ने र विद्युतगृह निर्माण गर्ने गरी निर्माणको काम बाँडफाँड गरिएको छ । भेरीको पानी १२.२ किलोमिटर सुरुङबाट बबई नदीमा मिसाउने योजनाभित्र ४८ मेगावाटको जलविद्युत आयोजना निर्माण पनि परेको छ ।
अहिले बाँध क्षेत्र र विद्युतगृहको डिजाइन पुनरावलोकन भइरहेको आयोजना निर्देशक शिवकुमार बस्नेतले बताए । ‘निर्माण अर्थात् सुरुङ खन्ने काममा कुनै समस्या आएको छैन,’ उनले भने, ‘यही गतिमा काम हुँदा तोकिएको समयमा सुरुङ खन्ने काम पूरा हुन्छ ।’ मेसिनले खन्नुअघि करिब १५० मिटर परम्परागत तरिका (ड्रिलिङ एन्ड ब्लाष्टिङ) ले सुरुङ खनिएको थियो । यो मेसिन राख्न वा फिट गर्नका लागि खनिएको थियो । दुई वर्षभित्र सुरुङ पूरा गर्ने लक्ष्य छ ।
सुर्खेत हात्तीखालबाट सुरु भई बाँधस्थल चिप्लेसम्म सुरुङ निर्माण हुनेछ । ४.२ डायमिटरको सुरुङबाट ल्याएर भेरीको पानी बबई नदीमा खसालिनेछ । आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको आयोजना आव २०७७/७८ सम्म सुरुङ खन्ने कामसहित बाँध तथा विद्युतगृहको काम पूरा गर्ने लक्ष्य छ । १६ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिए पनि यसको लागत २२–२३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको बस्नेतले जानकारी दिए । सरकारले चालू आवमा आयोजनाका लागि ८८ करोड ८० लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
प्रमुख बस्नेतले टिबिएमको सफल परीक्षणपछि नेपालमा सुरुङ निर्माणका लागि अब परम्परागत प्रविधि प्रयोग गर्नु नपर्ने भएको छ । परम्परागत तवरले सुरुङ खन्दा विस्फोट गराउने गरिन्छ । ‘मेशिनको प्रयोगपछि अब नेपालमा सुरुङ निर्माणका लागि टिबिएम युग सुरू भएको छ,’ आयोजना प्रमुख बस्नेतले भने, ‘मेशिनको प्रयोग सफल भएको छ ।’ भेरी बबई परियोजनालाई बहुउद्देश्यीय आयोजनाका रूपमा अगाडि बढाइएको छ ।
आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाह्रै महिना बर्दिया र बाँकेमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ खन्ने काम गत कात्तिक २९ गतेदेखि सुरू भएको हो । कूल १२ किलोमिटर लामो सुरुङ खन्ने अवधि २४ महिना राखिएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्माङ्गत खनालले दैनिक २० मिटरका दरले सुरुङ खन्ने कार्य अगाडि बढेको जानकारी दिए ।
‘हामीले सुरुङ खन्ने कार्यलाई थप गति दिइरहेका छौँ । तोकिएको समयभन्दा अगावै सुरुङ निर्माण कार्य सम्पन्न हुनेछ,’ उनले भने । प्रदेश नं ५ (कर्णाली प्रदेश) र प्रदेश नं ६ को आर्थिक समृद्धिसँग जोडिएको आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गराउने गरी आफूहरू क्रियाशील रहेको जानकारी दिँदै खनालले हालसम्म आयोजनाको भौतिक प्रगति असाध्यै राम्रो रहेको दावी गरे । सुरुङ निर्माण अगाडि बढेपछि विद्युत् गृह निर्माणको कामसमेत सुरू गरिएको छ ।
भेरीको पानीलाई बबई नदीमा झारेर सिँचाई तथा विद्युत् उत्पादन गर्ने सो नेपालको पहिलो बहुउद्देश्यीय आयोजना हो । हाल आयोजनामा दैनिक तीन सयभन्दा बढी नेपाली तथा चिनियाँ कामदार कार्यरत छन् । सुर्खेतकोे चिप्लेस्थित भेरी नदीमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेण्ड ४० घनमिटर पानी बबई नदीमा खसालिनेछ । बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके तथा बर्दियामा सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको लक्ष्य छ ।
पहिलो चरणमा सुरुङ निर्माण र दोस्रो चरणमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य राखिएको छ । आवको ६ महिनामा ५५ करोड ६२ लाख ७४ हजार रुपैयाँ खर्च भइसकेको छ । चालू आवलाई बजेट अभाव हुने हुँदा थप विनियोजन गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणको जिम्मा चीनको चाइना ओभर्सिज ग्रुप कम्पनी (कोभेक)ले पाएको छ । राष्ट्रिय गौरवको सूचीमा राखिएको आयोजनाबाट बाँके र बर्दियाको खेतियोग्य जमिनमा सिँचाइ पुर्याउने लक्ष्य छ ।
भेरीको पानी बबईमा मिसाएर त्यसबाट ५१ हजार हेक्टर क्षेत्रमा सिँचाइ पु¥याउने र सहउत्पादन (बाइप्रडक्ट) का रूपमा ४८ मेगावाट बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । यसअनुसार १२ किलोमिटर सुरुङ निर्माण कार्य ठेक्कापट्टा भएर निर्माण कार्य भइरहेको छ भने विद्युत् उत्पादनका लागि सरकारले हालसम्म वित्तीय बन्दोबस्ती गरेको छैन ।
हालसम्मको प्रगति सन्तोषजनक एवम् उत्साहप्रद भएको टिप्पणी गर्दै आयोजना प्रमुख बस्नेत राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई आयोजनालाई नमूना बनाउने विश्वास व्यक्त गर्छन् । आयोजनामा टिबिएम प्रयोग सफल भएपछि नेपालमा निजी क्षेत्रका ऊर्जा उद्यमीसमेत टिबिएम ल्याउने तयारीमा लागेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले यही पुस २१ गतेदेखि आयोजना गरेको हिमालयन हाइड्रो एक्पोमा समेत राखिएको थियो भने २०१८ मा समेत टिबिएम मेशिन प्रदर्शनीमा राखिनेछ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले टिबिएम मेशिनका बारेमा चासो राख्दै केही उद्यमी चीन पुगेको जानकारी दिए ।
।