सूचनाको शक्ति - The Power Of Information

        

जलवायु परिवर्तन : खडेरी र संवेदशिलता


पच्चीस वर्षअघिको तुलनामा अहिले खडेरी, रोग, कीराको प्रकोप र खण्डवृष्टि बढेको तथ्य सार्वजनिक भएको छ । नेपालमा पहिलोपटक गरिएको राष्ट्रिय जलवायु परिवर्तन प्रभाव सर्वेक्षणमार्फत यस्तो तथ्य सार्वजनिक गरिएको हो । विसं २०७३ भदौदेखि माघसम्म गरिएको सर्वेक्षण अनुसार जलवायु परिवर्तनको प्रभाव वन, जैविक विविधता, स्वास्थ्य लगायत क्षेत्रमा परेको छ । केन्द्रीय तथ्याङ्क विभागको केही दिनअघि सार्वजनीक गरिएको सर्वेक्षण प्रतिवेदन अनुसार उच्च हिमाली क्षेत्रमा २५ वर्षअघिको तुलनामा खडेरी, पहिरो, हिमपहिरो र रोगकीराको प्रकोप बढेको छ । खडेरीका कारण आगलागीको घटनामा वृद्धि भएको, अन्नबालीमा नयाँ रोग देखापरेको, नयाँ कीराको प्रकोप बढेको, घरपालुवा जनावरमा नयाँ रोग देखा परेको, तापक्रम वृद्धिका कारण लाग्ने रोग बढेको र पानीका कारण लाग्ने रोग बढेको देखिएको छ ।
त्यस्तै पानीको मुहानमा परिवर्तन भएको सर्वेक्षणले देखाएका छ भने जमिनको सतहको पानीको मात्रामा ह्रास आएको र पानीका केही मुहान पूर्णरुपमा सुकेको देखाएको छ । कृषि जमिनमा मिचाहा झारको प्रकोप बढेका कारण कृषि उत्पादनमा कमी भई आय स्रोतमा समेत असर गरेको प्रतिवेदनमा जनाइएको छ । सर्वेक्षणलाई आधार मान्ने हो भने जलवायु परिवर्तन नै खडेरीको प्रमुख कारणका रुपमा देखिएको छ । वन विनाश, विश्वव्यापी तापक्रममा वृद्धि, अत्यधिक हरित ग्याँस उत्सर्जन आदी जलवायु परिवर्तनका कारणहरु हुन । नेपालको जनसंख्या विश्व जनसंख्याको ०.४ प्रतिशत भन्दा कम छ । तर नेपालले विश्व उत्सर्जनको ०.०२५ प्रतिशत मात्र हरितगृह ग्याँस उत्सर्जन गर्छ तर पनि नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियस दरले वृद्धि भइरहेको अनुमान गरिएको छ । जलवायु परिवर्तनका कारण नेपालमा अनावृष्टि, अतिवृष्टि, समयमा पानी नपर्ने, वर्षाका दर र गतिमा परिवर्तन, पानी पर्नै दिनमा कमी आदी घटनाहरु कुनै नौलो होइन । अनावृष्टिलाई नै खडेरी भन्ने गरिन्छ ।
लामो समय पानी नपर्नु नै खडेरी हो । खडेरीको अर्थ सुख्खा हुनु हो । खडेरी एउटा प्राकृतिक घटना हो, जुन मौसम र उच्च चाप प्रणालीसँग सम्बन्धित छ । खडेरी विस्तारै प्राकृतिक प्रकोप बन्दै गएको छ । वैज्ञानिकहरुका अनुसार मौसम विज्ञान अनुसार वर्षा हुने स्थान र सुख्खा समयमा पानी परेन भने त्यसलाई मौसमी खडेरी भनिन्छ । जल विज्ञान अनुसार खडेरी पृथ्वीको सतह र उपसतहमा पानीको आपूर्तिमा कमीलाई जनाउँदछ । ताल तलैया, भूमीगत पानी लगायतको सतहमा कमीका आधारमा यसको आँकलन गरिन्छ । कृषि खडेरी कुनै निश्चित ठाँउमा खास अनाजका लागि माटोमा हुने चिस्यानमा आधारित हुन्छ । खडेरीलाई जुनसुकै नाम दिए पनि यो जलचक्रलाई प्रभावित पार्ने कारक तत्व हो । जलचक्रका कारण पारिस्थितिक पद्धति प्रभावित हुन्छ । यसले जल र स्थलमा अनेकौ समस्या निम्त्याउँछ ।
खडेरीले गर्दा कृषि उत्पादनमा कमी, खानेपानीको हाहाकार, जैविक विविधतामा ह्रास आदी असरहरु नेपालका देखा परेका छन् । जसले गर्दा देशको आर्थिक अवस्था खस्किनु मात्रै नभई देशका प्रति व्यक्ति आयमा गिरावट, कुल ग्राहस्थ उत्पादनमा समेत कमि आउने गर्दछ । जलवायु परिवर्तनका कारण नै खडेरी हुने कुरामा हामी दुईमत छैनौ । जलवायु परिवर्तन एउटा प्राकृतिक घटना हो । यो निरन्तर परिवर्तन भईराख्ने चक्र हो । यसलाई हामी रोकेर राकिन्न । परिवर्तन संसारको नियम हो । परिवर्तन अनुसार हामीले जिउन सक्नु पर्दछ । जलवायु परिवर्तनको असरलाई न्युनीकरण गर्न ज्यादै खर्चिलो, समय बढी लाग्ने, बढी साधन स्रोचको आवश्यक्ता हुन्छ । जुन हाम्रो जस्तो विकासोन्मुख गरीव देश नेपालले धान्न सक्दैन । जलवायु परिवर्तनबाट सिर्जित प्रकोप हो खडेरी । यसबाट बढी मार गरिब, किसान, महिला आदी वर्गमा पर्दछन् । नेपाल जलवायु परिवर्तनको असरका हिसाबले जोखिमयुक्त देश भएको हुनाले खडेरी नेपालको लागि अतिनै संवेदनशिल विषय बन्दै गएको छ ।
कृषिमा आधारीत जिविकोपार्जन, प्रकोपको पूर्व सूचना प्रणालीको अभाव, कमजोर आर्थिक स्थिती, सरकारको अस्थिरता, कमजोर वा अपर्याप्त पूर्वाधार आदी कारणले नेपाल अति नै जोखिममा परेको देश हो । त्यसकारण खडेरीबाट बच्न जलवायु परिवर्तन न्यूनीकरण गर्नुभन्दा सोको पर्ने असरबाट अनुकुलन हुन जरुरी छ । अनुकुलन स्थानिय स्तरमै गरिन्छ । अनुकुलन कार्यक्रम अत्यन्तै फाइलाजनक, किफायती, जनउपयोगि हुन्छ । यसले सकारात्मक असरलाई वढावा गर्दछ भने नकारात्मक असरलाई न्यूनीकरण गर्दछ । अनुकुलन कार्यक्रमहरु तिव्र गतिमा प्रभाव पार्ने गर्दछ । यस्ले स्थानीय समस्याको सम्बोधन गर्ने गर्दछ । अनुकुलन हुनु एउटा कला हो यो आफुलाई परिवर्तित समय अनुसार बाँच्न सिकाउँछ, समस्या समाधान गर्न, प्रकोप विरुद्ध लड्न तयार गराउँछ । हामीले खडेरीबाट लडनै पर्दछ । कृषिप्रधान देश साख बचाउनै पर्दछ । कृषियोग्य जमिनहरु बाँझो हुनुबाट बचाउन खडेरीबाट सिर्जित समस्याहरुको समाधान गर्न अनुकुलन कार्ययोजना अनुसार अगाढी बढ्नु आजको आवश्यक्ता हो ।
पानी मुहान सुक्ने प्रकोपबाट अनुकुलन हुन विभिन्न क्रियाकलापहरु जस्तैः वृक्षारोपण गर्ने, जोगाउने, हुर्काउने, वढ्दो तापक्रम सहन सक्ने वोटविरुवा तथा वाली नालीहरुको नश्ल तयार गरी खेती गर्ने, कृषिवन लगाउने, पानीको मुहान संरक्षण (इन्टेक, टंकी तथा पाइपलाइन व्यावस्थापन) गर्नु आवश्यक देखिन्छ भने कृषि उत्पादनमा÷माटोको उर्वराशक्तिमा ह्रासजस्ता प्रकोपबाट अनुकुलन हुन सिचाई पोखरी निमार्ण, प्लाष्टिक पोखरी मर्मत, प्लाष्टिक पोखरी मर्मत, आकासे पानी संकलन, उन्नत जातका विउविजन खरिद, गोठेमल सुधार, गोठ सुधार (भकारो सुधार), कम्पोष्ट मल, पशु मुत्र संकलन, स्प्रे टंकी खरिद, अगुवा कृषक विकास, कृषक पाठशाला इत्यादी क्रियाकलापहरु संचालन गर्न जरुरी देखिन्छ । सिचाईमा असर (खडेरी)बाट बच्न सिचाई पोखरी निर्माण, सिचाई कुलो निर्माण आकासे पानी संकलन गर्ने जस्ता क्रियाकलापहरु गर्न जोड दिनुपर्ने देखिन्छ । यसरी खडेरीबाट सिर्जित विभिन्न प्रकोप र विभिन्न प्रकोपहरुबाट उत्पन्न विभिन्न समस्याहरुबाट बच्नका लागि हामी जस्तो गरिव देशका जनताहरु अनुकुलनका लागि क्षमता अभिवृद्धि गर्दै अनुकुलन कार्ययोजनाहरु संचालन गर्न अपरिहार्य देखिन्छ । तब मात्र हामी र हाम्रो देशको सामाजिक, आर्थिक विकास सम्भव छ । (लेखक जलवायु संरक्षण अभियान नेपालका महासचिव हुन् ।)

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार १२:३६