सूचनाको शक्ति - The Power Of Information

        

जनप्रतिनिधि आएपछि विकासमा फड्को


बाँके । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ४ ले विकासे गतिविधि बढाएको छ । जनप्रतिनिधि आएपछि विकासले गति लिने अपेक्षालाई यथार्थमा बदलेका छन्, वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले । उनको नेतृत्वको वडा नम्बर ४ अहिले निकै गतिशील बनेको स्थानीयहरु बताउँछन् ।
‘जनप्रतिनिधि पाएको ८ महिनामा हामीले धेरै परिर्तनको महसुस गर्दैछौं, काममा आफैं खट्ने वडा अध्यक्ष पाएका छौं,’ स्थानीय समाजसेवी मोहम्मद सलीम मुसलमाने भने । वडा अध्यक्ष बेहनाले जनताको काम गर्न र विकास गर्ने अटल लक्ष्यका साथ आफू अघि बढेको बताए । उनले रमजान हलवाईको घरदेखि वडा प्रहरी कार्यालयसम्म ३ लाखको लागतमा पिभिसी निर्माण सम्पन्न भएको बताए ।
त्यस्तै गौशिया मस्जिदको सामुन्नेदेखि दिनेश बबको घरसम्म ३ लाखको लागतमा पिभिसी र नाला निर्माण सम्पन्न भएको छ । वडा नम्बर ४ लाई खुला दिसामुक्त बनाउनका लागि सार्वजनिक शौचालय निर्माण भइरहेको वडा अध्यक्ष बेहनाले जानकारी दिए । उनका अनुसार ५ लाखको लागतमा ५० प्रतिशत काम पूरा भएको छ । यस्तै घोसी टोलमा ५ लाखको लागतमा ६० मिटर पिभिसी निर्माण सम्पन्न भएको छ ।
बसपार्क बिद्युत रोडदेखि वडा प्रहरी कार्यालय सम्मको सड़क कालो पत्रेको काम अगाडि बढेको छ । २ किलोमिटर लामो यो एडीबीको प्रोजेक्ट हो । त्यस्तै वडा नम्बर ४ मा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको स्थापना गरिएको छ । सार्वजनिक पिउने पानीको धारा निर्माण गरिएको छ । घोसी टोल, वडा कार्यालयको प्रांगण, क्षयरोग अस्पताल र गणेशपुरमा एक एक वटा धारा निर्माण गरिएको छ ।बसपार्कको प्रगतिपथमा शिव पार्वती मन्दिर निर्माणको काम पनि शुरु गरेको अध्यक्ष बेहनाले बताए ।
मन्दिर निर्माणका लागि उनले आफैंले ब्यक्तिगत ५१ हजार रुपैयाँ र ४ हजार ईटा सहयोग गरेका छन् । मन्दिर निर्माणकै लागि पिभिसी ईटा उद्योगले २ हजार ईटा, वडा नम्बर ६ का अध्यक्ष समीर प्रताप शाह र वडा नम्बर १९ का अध्यक्ष पर्शुराम बर्माले २–२ हजार, अन्नपूर्ण राइस मिल खजुराका सुधिर शुक्लाले पनि २ हजार ईटा सहयोग गर्ने भएका छन् । जनताको सेवामा समर्पित हुन पाउँदा आफूलाई निकै गौरवबोध र आनन्द अनुभूति भएको वडा अध्यक्ष बेहनाले बताए । ४ नम्बर वडालाई नमुना वडा बनाउन आफूले कुनै कसर बाँकि नराख्ने उनको दृढता छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार ११:३९