सूचनाको शक्ति - The Power Of Information

        

जलविद्युत सेयरमा जोखिम, दर्जनौं कम्पनी संकटमा


काठमाडौं । जलविद्युत कम्पनीको सेयरमा लगानी गर्नु आकर्षक मानिए पनि पछिल्लो समय यो सर्वसाधारणका लागि चिन्ताको कारण बन्न थालेको छ । वित्तीय क्षेत्रको तुलनामा यसको सेयर मूल्यमा बढी गिरावट आउन थालेपछि समस्या देखिएको हो ।
सय रुपैयाँमा एक कित्ता सेयर पाइने हुँदा हरेक कम्पनीको साधारण सेयर निष्कासन हुँदा सर्वसाधारणको भीड लाग्ने गर्छ । ती व्यक्तिलाई कम्पनीको अवस्था भन्दा बढीभन्दा बढी सेयर पर्नुसँग सरोकार हुन्छ ।अझ पछिल्लो समय यो गतिविधि जलविद्युत कम्पनीमा बढी देखिने गरेको छ ।
अधिकांश सर्वसाधारणले आँखा चिम्लेर पैसा हालेका कम्पनीले भविष्यमा कति प्रतिफल दिन्छन् वा कति कमाउँछन् भन्ने हेक्का राख्दैनन् । जसको कारण वर्षौंसम्म प्रतिफलको आशमा बसेका हुन्छन् । प्राथमिक वा साधारण सेयरमा लगानी गर्नेले ढिलो चाँडो केही कमाउने सम्भावना हुन्छ । तर, लाखौं वा करोडौं रुपैयाँ दोस्रो बजारमा हालेका व्यक्तिका हकमा भने साँच्चै पीडादायी विषय हुने देखिन्छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अहिलेसम्म १७ जलविद्युत कम्पनी सूचीकृत छन् । तीमध्ये चिलिमे हाइड्रो पावर कम्पनी, सानिमा माई, बुटवल पावरलगायत ४–५ कम्पनीमात्र राम्रा छन् । बाँकी कम्पनीको वित्तीय अवस्था राम्रो छैन । आइतबारदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा जलविद्युत कम्पनी नै बढी मर्कामा परेका छन् ।
अधिकांश कम्पनीको सेयर प्रतिकित्ता मूल्य १५० देखि २०० रुपैयाँको हाराहारी छ । यसको तुलनामा बैंक तथा वित्तीय क्षेत्रको सेयर मूल्यमा कम गिरावट आएको छ । सेयर बजारमा अहिलेसम्म वित्तीय क्षेत्रकै वर्चश्व छ । विस्तारै जलविद्युत यसैको दाँजोमा आउँदैछ । तर, जलविद्युत भन्नासाथ आँखा चिम्लेर पैसा हाल्ने होडले सर्वसाधारणको रकममात्र डुब्दैन, सिंगो क्षेत्र नै संकटमा पर्ने देखिन्छ ।
अब प्राथमिक सेयर (आइपिओ) जारी गर्ने लाइनमा अधिकांश जलविद्युत कम्पनी नै छन् । आइपिओ जारी गर्न लागेका १७ कम्पनीमध्ये १४ वटा जलविद्युतसँग सम्बन्धित छन् । तीमध्ये माथिल्लो तामाकोसी, सिइडिबी हाइड्रो फन्ड तथा चिलिमेका सहायक कम्पनी लगायत केही मात्र वित्तीयरूपले बलिया छन् । अन्यको अवस्था त्यति राम्रो छैन ।
झन्डै डेढ दशकअघि साधारण सेयर जारी गरेको नेशनल हाइड्रो कम्पनीले अहिलेसम्म सर्वसाधारणलाई एक रुपैयाँ प्रतिफल दिएको छैन । यसमा लगानी गर्ने संस्थापक सेयरधनीले पनि करोडौं रुपैयाँ डुबाए । एक–दुई व्यक्तिले मात्र यहाँबाट अकुत कमाए । उक्त कम्पनीको सेयर मूल्य अहिले १०३ रुपैयाँमात्र छ । भविष्यमा दरिलो वित्तीय अवस्था नभएका कम्पनीको हविगत यही हुने प्रष्ट छ ।
पछिल्ला वर्षमा जलविद्युतमा लगानी बढी जोखिमपूर्ण र झन्झटिलो बन्दै गएको छ । भौगोलिक, सामाजिक, वातावरणीय पक्ष व्यवस्थापन गर्दा जलविद्युत आयोजनाको लागत यसै बढी हुन्छ । यसमाथि स्थानीयदेखि केन्द्र सरकारसम्मलाई कर तिर्नुपर्ने दबाबले यो अझ बढी संवेदनशील बन्दैछ । जलविद्युत कम्पनीले बैंकबाट लिएको ऋणको ब्याज नतिरेसम्म प्रतिफल दिन सक्ने अवस्था हुँदैन ।
ब्याज तिर्ने अवधि प्राय ७ देखि १० वर्ष कायम गरिएको हुन्छ । तर, लागत बढ्दै जाँदा ब्याज तिर्ने अवधि पनि लम्बिँदै जान्छ । फलतः प्रतिफल आउने समयको टुंगो हुँदैन । यसर्थ, आर्थिक तथा वित्तीय अवस्था दरिलो नभएका कम्पनीबाट सर्वसाधारणले दशकौंसम्म केही पाउँदैनन् । उल्टो गरेको लगानी पनि फस्छ ।
जलविद्युत कम्पनीमा संस्थागत सुशासन अभाव गम्भीर समस्याको रूपमा उठ्न थालेको छ । निर्माण चरणमै विभिन्न किसिमका छलकपट (म्यानुपुलेसन) का कुरा उठिरहेका छन् । यी कारणले पनि जलविद्युत कम्पनीमा सेयर लगानी जेखिमपूर्ण बन्दै गएको यस क्षेत्रका जानकारको निष्कर्ष छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार ०६:११