सूचनाको शक्ति - The Power Of Information

        

दानवीरको नाममा आँखा उपचार केन्द्र स्थापना

श्रीजंग शाह र रुद्र कुमारी शाह

श्रीजंग शाह र रुद्र कुमारी शाह


बाँके । नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पताललाई काठमाडौँको आफ्नो करिब रु एक अर्बको घरजग्गा दान गर्ने दानवीर श्रीजङ शाह र उनकी धर्मपत्नी रुद्रकुमारी शाहको नाममा बर्दियामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।
फत्तेवाल आँखा अस्पतालका वरिष्ठ प्रबन्धक कौशलकुमार वर्माका अनुसार बर्दियाको भुरीगाउँ र मगरागढीमा ‘श्रीजङ रुद्रकुमारी आँखा उपचार केन्द्र’ स्थापना गरी सञ्चालनमा समेत ल्याइएको छ । यसैगरी, उनीहरुको अर्धकदको शालिक फत्तेवाल आँखा अस्पतालको परिसरमा निर्माण गरिने निर्णय पनि गरिएको छ ।
शालिकको निर्माण सम्पन्न भएपछि दानवीरद्वय श्रीजङ शाह र रुद्रकुमारी शाहबाट अनावरण गराइने प्रबन्धक वर्माले बताए । पच्चीस वर्षअघि दानवीर श्रीजङका पिता फत्तेजङ शाहले आफ्नी धर्मपत्नी स्व बालदिव्येश्वरी शाहको सम्झनामा नेपालगन्जमा आँखा अस्पताल सञ्चालनका लागि करोडौं मूल्यको घरजग्गा दान दिएपछि ‘फत्तेवाल आँखा अस्पताल’ मा सञ्चालनमा आएको थियो ।
सो अस्पतालमा प्रदेश ५, ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतबाट समेत दैनिक सयौँको संख्यामा आँखाका बिरामी उपचारका लागि आउने गर्छन् । यसैगरी, फत्तेवाल आँखा अस्पतालले हाल प्रदेश नं ५ को बर्दियाको राजापुर, बाँसगढी, भुरीगाउँ, मगरागढी र सानोश्री तथा कर्णाली प्रदेशको दैलेखको दुल्लु र सुर्खेतको मेहलकुनामा पनि आँखा उपचार केन्द्र स्थापना गरी सेवा प्रवाह गरिरहेको छ ।
नेपाल नेत्रज्योति संघ, बाँकेका अध्यक्ष रतनकुमार टण्डनका अनुसार नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले वार्षिक सरदर एकलाख २० हजार आँखाका बिरामीलाई बहिरंग र १२ हजारलाई शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार ०५:३६