सूचनाको शक्ति - The Power Of Information

        

दुर्घटना कम गर्न चालकको आँखा परीक्षण


रोल्पा । जिल्लामा बढिरहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्दै रोल्पामा सवारी चालक र सहचालकको निःशुल्क आँखा शिविर गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा बुधबार भएको सो शिविरमा जिल्लाका लामो तथा छोटो दूरीका सवारी चालक र सहचालकको सहभागीता रहेको थियो ।
सवारी चालकको कमजोर आँखाका कारण कयौैँ दुर्घटना हुने गरेको तथ्य सार्वजनिक भएसँगै रेडक्रश रोल्पाले यो अभियानको थालनी गरेको बताइएको छ । ‘चालक र सहचालकले अनिवार्यरुपमा आँखा परीक्षण गर्नुका साथै समस्या देखिए चश्मा र औषधि प्रयोगका लागि अभिप्रेरित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौँ,’ नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति नौलसिं पुनले भने ।
शिविरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको सहजीकरणमा ट्राफिक नियमको बारेमा अभिमुखीकरण समेत गरिएको थियो । चालक र सहचालकका लागि ट्राफिक नियमको अभिमुखीकरण तथा आँखा परीक्षण शिविरले जिल्लामा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जलजला यातायात व्यवसायी समिति रोल्पाका प्रशासनिक प्रमुख यज्ञश्वर आचार्यले प्रतिक्रिया दिएका छन् ।
शिविरको पहिलो चरणमा भएको कार्यक्रममा जिल्लाका ३६ जना चालक र सहचालकले आँखा परीक्षण गरेको सामुदायिक आँखा केन्द्र रोल्पाका इञ्चार्ज रेणुका चौधरीले जानकारी दिइन् । सवारी दुर्घटनाको एक कारण चालक र सहचालकको कमजोर आँखा पनि भएकाले यस्ता शिविरले दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक कृष्णबहादुर विकले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार जिल्लामा आर्थिक वर्ष ०७२/०७३ मा भएका २० वटा सवारी दुर्घटनामा सात जनाको मृत्यु, १२ जना घाइते र २२ जना समान्य घाइते भएका थिए । यसैगरी आव ०७३/७४ मा भएका ३६ वटा सवारी दुर्घटनामा पाँचको मृत्यु, २७ जना घाइते र २७ जना सामान्य घाइते भएका थिए । चालू आवको हालसम्म भएका आठवटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दुईजना घाइते र १० जना सामान्य घाइते भएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार ०५:२७