सूचनाको शक्ति - The Power Of Information

        

‘सृष्टिले होइन दृष्टिले’ ठगेका महिला


नेपालका लगायत विश्वका सबै देशमा नारी दिवस मनाइन्छ । ‘उन्नतिका लागी दवाव सिजृना गरौं’ भन्ने मुल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । हरेकवर्ष मार्च ८ आउँछ, अनि महिलाहरु आफनो हक र अधिकारका लागि प्ले कार्ड बोकेर अधिकारको नारा लगाउन बाध्य छन्, विभिन्न कार्यक्रमहरु गर्दै महिला दिवस मनाइरहेका हुन्छन् । कार्यक्रमहरुमा महिलाको हक र अधिकारका विषयमा पुरुषहरुको मुखबाट पनि परिवर्तनका कुराहरु सुन्न पाइरहेका हुन्छौं । नारी दिवस मनाउनुको औचित्य के हो त ? यो त हरेक महिलाको हकअधिकार र समानताको लडाई हो । नेपालको संविधानमा महिलका हकअधिकारका सम्बन्धमा अनेकन व्यवस्था गरिएका छन् । नीति निर्माणदेखि लिएर राजनीतिमा महिलाको सहभागिता लगायत अन्य थुप्रै पक्षबाट महिला सहभागितालाई प्राथमिकतामा राखिएको छ । कुनै एउटा महिला आफ्नो घरबाटै परिवर्तन चाहान्छे, समानता चाहान्छे जवसम्म आफ्नो घरमा परिवर्तन हुँदैन भनिन्छ, समाज परिवर्तन गर्नुछ भने घरबाटै शुरुवात गर्नुपर्ने हुन्छ ।
‘महिलालाई लक्ष्मी, दुर्गा, सरस्वती वा सृष्टिदाता जननीको रुपमा हेर्न यो समाजमा किन विभेद छ । महिला सशक्क्त भए परिवारसँगै राष्ट्र सशक्क्त बन्छ । कतिपयले भन्छन्, ‘महिलालाई प्रकृतिले ठगेको छ, कमजोर बनाएको छ, तर वास्तवमा भन्ने हो भने महिलालाई प्रकृतिले, सृष्टिले ठगेको होइन महिलालाई हेर्ने दृष्टिले ठगेको हो । पितृसत्तात्मक सोचबाट जकडिएको समाजले महिलालाई पछाडी पारेको हो । प्रकृतिले त महिलालाई झनै बलवान बनाइदिएको छ । एउटा आमा बन्ने शक्ति, बच्चालाई स्तनपान गराउने सौभाग्य केवल महिलामा मात्रै छ ।’ हामी कल्पना गरौं, महिलाबिनाको घर समाज अनि राष्ट्र कति उजाड हुनेछ ? कल्पना गरौं कुनै घरको जहाँ श्रीमान् र छोराछोरी मात्रै छन् त्यहाँ तरकारी बिनाको नुनजस्तै खल्लो हुन्छ । आमा बिनाका ति छोराछोरी अर्धाङ्गिनी बिनाको त्यो श्रीमान् अनि त्यो घर शुन्य लाग्छ पूर्ण हुँदैन । एउटा महिला बिनाको कल्पना पनि गर्न नसकिने यो सृष्टि, अनि किन नदिने समानता, किन हरेकवर्ष महिला मार्च ८ लाई मनाउन बाध्य छन्, किन परिवर्तन घरबाट गर्न सकिरहेका छैनौं ? आधा आकाश ढाक्ने महिलालाई सृष्टिदाता, सरस्वती, दुर्गा, लक्ष्मी सम्मानित शब्द भनिए पनि सम्मान किन दिन सकिरहेको छैन ? तराईमा दाइजोको कारणले कतिपय महिलालाई जल्नुपरेको छ, यातना सहन नसकेर आत्महत्या गर्नुपरेको छ ।
हरेकदिन बलात्कारका घटनामा वृद्धि भइरहेको छ । आफ्नै बाबु–हजुरबुवा, नातेदारबाट बलात्कृत हुनु, प्रेमीबाट बलात्कृत हुनु, कामबाट फर्कदा बीचबाटोमा सामूहिक बलात्कारको सिकार बन्नु र ज्यान गुमाउनु पर्नेसम्मको अवस्था सृजना भएको छ । भनिन्छ, जुन घरमा महिला शिक्षित हुन्छन्, त्यो परिवार नै शिक्षित हुन्छ कुनै पनि महिलाको प्रगति भनेको त्यो घरको, त्यो समाजको, त्यो राष्ट्रको र पूरै विश्वको प्रगति हो । किनभने जब महिलाहरू व्यक्तिगत रूपमा आफैंमा सशक्त हुन्छन्, अनि तबमात्र उनीहरूका सन्तानले पनि सही शिक्षा र उचित मार्ग पाउँछन् । आफू शिक्षित, स्वस्थ, मस्त, आनन्दित र प्रेमपूर्ण रहनु पहिलो प्राथमिकता हो । राजनीतिक एवं सामाजिक सहभागिता घरपरिवार र आनन्दपछिको दोस्रो प्राथमिकता हो । जसरी पहिलो खुट्किलो नचढी दोस्रो चढ्न खोज्दा लड्ने सम्भावना हुन्छ । त्यसैगरी पहिलो सशक्तीकरणमा उत्तीर्ण नभई दोस्रोमा जाँदा लड्ने सम्भावना हुन्छ ।
आत्मविश्वास, आत्मनिर्भरता, सहनशीलताजस्ता गुण महिला सशक्तीकरणका वा महिलालाइ बलियो बनाउने आधार हुन् । यी आयामहरूबाट महिलाको प्रगतिका लागि घर, समाजको सहयोग आवश्यक हुन्छ भने स्वयं महिलाले पनि आफूलाई अघि बढाउनुपर्छ । नेपालको संविधानमै महिला हक अधिकारका सम्बन्धमा अनेकन व्यवस्था छन् । नीति निर्माणदेखि राजनीतिक सहभागिता अनि अरु धेरै पक्षबाट महिला सहभागितालाई प्राथमिकतामा राखिएको छ । शहरी क्षेत्रमा केहि परिवर्तन आएपनि गाउँका महिलालाई अझैसम्म हक र अधिकारले त्यति धेरै छुन सकेको छैन । अहिले त यी कुरामा पनि केहि बदलाव भने आइरहेका छन् । पछिल्लो समयमा राजनीतिमा जुन सहभागीता हुनुपर्ने हो नभएपनि अब अगाडी बढ्नुपर्छ भन्ने सोच बनाएका छन् । जसको परिणम हामी राजनीतिमा तथा अन्य क्षेत्रमा महिलाको सहभागीताबाट केहि मात्रामा बृद्धि भएको पाएका छौं ।
कसले दिने समानता प्रश्न त्यहाँ छ । राज्यले महिलालाइ ३३ प्रतिशत अधिकार त दियो तर त्यो हकको लागी लड्ने महिला खै ? जति नै कानुन बनेर संविधानमा अंकित भए पनि रुढिवादी परम्परा समाप्त नहुँदासम्म नारीका रूपमा गरिने विभेदको अन्त्य हुँदैन । आफुले पाएको अधिकारलाई कुनै पनि क्षेत्रमा महिलाले आफ्नो सक्षमता प्रस्तुत गर्न सक्ने हो भने राज्यले दिएको अधिकारको ढोका खुल्ला छ, अवसर पनि त्यत्तिकै छन् । अब महिलाले आरक्षणमा मात्र सीमित नभएर प्रत्यक्ष सहभागिता जनाउँदै आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुपर्छ । नारी दिवस मनाउँदैमा वा विभिन्न प्रतिबद्धता जनाउँदैमा मानिसको सोचमा परिवर्तन आउँदैन । घरमा चुलो चौकोबाट बाहिर निस्कने अधिकार कहिले ? घरमै बसी चुलो चौको र श्रीमान र बच्चाबच्चीलाई नै आफनो खुशि ठान्ने नारीलाइ के थाहा, अधिकार के हो र कहाँ पाइन्छ । शहरी क्षेत्रमा केहि महिला वा पुरुषको सोचमा परिवर्तन आएपनि गाउँमा अझै पनि महिलामा आफ्नो हक र अधिकारको लागि लड्नुपर्छ भन्ने कतिपयलाई थाहा नै छैन ।
हरेकदिनको आफ्नो दैनिकीको सिवाय केही छ भन्नेसम्म पनि अड्कल गर्न नसक्ने महिलाहरु पनि छन् । जुन हरेक रात श्रीमानको उपभोग्य बस्तु बनिरहेका छन् । त्यस्ता कतिपय महिलालाई अधिकारले र समानताको लडाइले छुन सकिरहेको छैन् । हिजोको अवस्थाबाट आजको अवस्थासम्म आइपुग्दा भएका सकारात्मक परिवर्तनहरूलाई हेर्नुपर्छ । शहरी क्षेत्रको सहभागिता हेर्दा कसैले आरक्षण नदिए पनि आफैंमा सशक्त र सक्षमताका साथ उत्तरदायित्व निर्वाह गर्न सक्नेहरूको संख्या बढ्दैछ । समानताको लडाइँ लड्दा कतिपयको समबन्ध बिच्छेद हुन पुगेका घटना पनि छन् । हरेक महिलाले आफनो घरमा समानताको हकको दियो बाल्न खोजिरहेको हुन्छ । तर त्यो महिलाले मात्रै चाहेर हुँदैन, घरपरिवारको महत्वपूर्ण हात हुन्छ । समाजले हेर्न दृष्टिमा परिवर्तन आउनु आवश्यक छ । घरबाट निस्कने अधिकार घरकाले दिनुपर्ने हुन्छ । परापूर्वकालदेखि महिलालाई लक्ष्मी सरस्वती दुर्गाको नाम दिए पनि केवल नाममा मात्रै सिमित रहेको छ ।
समान हकका लागि आफैंले गरेर देखाउने बेला आएको छ । आखिर समान सहभागीताको सुनिश्चितता कहिले ? तर पनि देशमा पितृसत्तात्मक व्यवस्थाका कारण सदियांैदेखिको लैगिक विभेदको सिकार यथावत नै छ । महिला भएकै कारणले गरिने शारीरिक, मानसिक, सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक, यौनजन्य हिंसा तथा राज्यद्धारा गरिने हिंसामाथिको हिंसा अझै पनि विद्यमान छ । महिलाहरु सामान्य परिवर्तनको छित्काबाट सन्तोष लिइरहेका छन् । यस्तै हजारौं प्रश्नहरुको भारी बोकेर हरेक वर्ष मनाउने नारी दिवसले समानताको हक खोजिरहेको छ । ताकी महिला भएकै कारणले कसैले हेप्न नसकुन् लैंगिकताका आधारमा महिलामाथि भेदभाव नगरियोस् । समाज परिवर्तनका लागि हरेक मार्च ८ लाई कुर्नु नपरोस्, हकका लागि झन्डा बोकेर सडकमा उत्रिनु नपरोस् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार ०४:५०