सूचनाको शक्ति - The Power Of Information

        

इलाका हुलाक कार्यालय बन्यो मन्त्री निवास

बुटवल । बुटवलको इलाका हुलाक कार्यालयलाई आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीको निवास बनाइएको छ । मन्त्री निवासको लागी भैरहवा लुम्बिनी भुमिगत जल परियोजना (भैलुभुज) परिषरमा रहेका ८ वटा भवनहरुको मर्मत र रंगरोगन भइरहेको छ ।
दुई वटा भवन तयार भइसकेको छ । मन्त्री केसी भैरहवा जान नमानेपछि बुटवलमै उनको लागि आवासको व्यवस्था गरिएको हो । भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरी भने भैलभुजस्थित आवसमा बस्न थालिसकेका छन् ।
इलाका हुलाक कार्यालयको दोस्रो तलामा मन्त्रीको केसीको बैठक कक्ष लगायतका कोठाहरु तयार भइसकेका छन् । तल्लो तलाको पनि सामान सार्ने काम हुँदैछ । हुलाक कार्यालयलाई भने लुम्बिनी बस टर्मिनल (बसपार्क) परिसरमा बनेको भवनमा सारिएको छ । बस टर्मिनल परिसरमा रहेको भवनमा सामाजिक विकास मन्त्रालय पनि रहेको छ ।
आन्तरिक मामिला मन्त्री केसी अहिले होटलमा बस्दै आएका छन् । मन्त्रीहरुको निवासको लागि छुट्याइएको भैरहवा भूमिगत जल परियोजना (भैलुभुज) परिषरमा १० परिवार बस्न मिल्ने गरी ८ वटा भवन मर्मत सम्भारको काम भइरहेको भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सुरेश ठाकुरले बताए । जसमध्ये ६ वटा भवनमा एकल परिवार बस्न मिल्ने छ । बाँकी २ वटा भवन २–२ परिवार रहन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार १०:२९