सूचनाको शक्ति - The Power Of Information

        

संघीय नेपालको पहिलो राष्ट्रपतिका लागि भण्डारी र राईको उम्मेदवारी


काठमाडौँ । संघीय नेपालको पहिलो राष्ट्रपति निर्वाचनका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उनले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।
उनका प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।
राष्ट्रपति भण्डारीले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराएकी हुन् । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नेकपा एमालेले मंगलबार वर्तमान राष्ट्रपति भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
यसैबीच, नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् । राष्ट्रपतिको निर्वाचनका लागि भोजपुरका शहीद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।
उनका प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले छन् ।
उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँगै कुरा गर्दै नेत्री राईले आफ्नो उम्मेदवारी विकास र समृद्धिका लागि भएको बताइन् । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
काँग्रेसको आजै बसेको केन्द्रीय कार्यसमिति बैठकले उनलाई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेत्री राईको उम्मेदवारी मनोनयनका क्रममा पार्टीका तर्फबाट महामन्त्री डा शशाङ्क कोइराला, नेता डा मीनेन्द्र रिजाललगायत उपस्थित थिए ।
सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री डा कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गरेका नाम अनुमोदन नगरेर स्वतन्त्र भूमिका निर्वाह नगरेको आरोप लगाए ।
महामन्त्री डा कोइरालाले राष्ट्रपति भण्डारीको भूमिका स्वतन्त्रभन्दा पनि पार्टी विशेषतिर ढल्किएको देखिएकाले उहाँविरुद्ध आफ्नो पार्टीले उम्मेदवारी दिएको स्पष्ट पारे । नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार १०:२२