पुष्पा उपाध्याय । बाँके । जति आदर्शका कुरा गरिएपनि र जति ठूला ठूला भाषण भएपनि हाम्रो समाज अझैं पनि संकिर्ण सोचको शिकार छ । यसको ज्वलन्त उदाहरण, होटल ब्यवसायको हाउस किपिङ्गमा आबद्ध महिला कर्मचारी स्वयम् बनेका छन् ।
आफूहरुले होटलका कोठाहरुलाई आफ्नै घर जस्तै तरिकाले इमान्दारिताका साथ सरसफाई र सजावट गर्ने काम गर्दै आएको ४–५ बर्ष बित्दा पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण नबदलिएको हाउस किपिङ्ग गर्दै आएकी फुलमाया बताउँछिन् । यतिमात्रै होइन होटलभित्र काम गर्ने असहज वातावरण केही नभएको र आउने पाहुनाहरुले पनि सम्मानपूर्वक ब्यवहार गर्ने गरेको अर्की हाउस किपिङ्गमा काम गर्ने ऋतुले बताइन् ।
‘हाउस किपिङ्गमा संलग्न महिला कर्मचारीहरुले मासिक पारिश्रमिक र पाउनुपर्ने सवै सुविधा समयमै पाइरहेका छन् । तर होटल लाइन भन्ने बित्तिकै परम्परागत नेपाली समाजमा एउटा नकारात्मक नजरले हेर्ने गरिन्छ । पाहिले भन्दा मानिसहरुले अलि शिक्षा हासिल गरेकाले पहिले जस्तो अब गाह्रो छैन,’ हाउस किपिङ्गमा कार्यरत एक महिलाले बताइन् ।
‘तर कतिपय मानिसहरुले बुझेर पनि बुझ पचाउने भएकाले अझैं इज्जतका साथ आफूलाई हाउस किपिङ्गको कर्मचारी भन्न असहज वातावरण रहेको छ,’ उनले गुनासो छ । ‘आखिर किन हाम्रो समाज अझैं यस्तो साँघुरो सोचमा अल्झिरहेको छ त ? मिहिनेतका साथ काम गर्न चाहनेहरुलाई गर्बका साथ बाँच्न र काम गर्न नदिने हाम्रो समाजले, प्रगतिको सपना देख्नु भनेको बालुवाको घर बनाउनु जस्तै भएको छ ।’ हाउस किपिङ्ग गर्ने महिला कर्मचारीहरुको गुनासो छ ।
।