सूचनाको शक्ति - The Power Of Information

        

बेलहिया नाका हुँदै नेपाल भित्रिने पर्यटक बढे


रेनुका गिरी । बुटवल । पछिल्लो महिना भैरहवाको बेलहिया नाका हुँदै नेपाल भम्रण आउने पर्यटकको संख्यामा २६ प्रतिशतले वृद्धि भएको छ । स्थलनाका भैरहवाको बेलहिया हुँदै सन् २०१८ को जनवरीमा नेपाल भम्रणमा आउने बिदेशी पर्यटकको संख्या वृद्धि भएको हो ।
अध्यागमन कार्यालय बेलहिया रुपन्देहीको तथ्यांक अनुसार जनवरी महिनामा बेलहिया नाकाबाट १२ हजार ९९६ पर्यटक नेपाल भित्रिएका छन् । यो गत वर्षको सोही अवधिको भन्दा २६ प्रतिशतले वृद्धि हो । गत बर्षको जनवरी महिनामा १० हजार २७६ पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका थिए । यो तथ्यांक भारतीय पर्यटकबाहेकको हो ।
सम्भवत जनवरीमा पर्यटक आगमन उच्च रहेको यो पहिलो पटक हो । सन् २०१३ को जनवरीमा १० हजार ७२४, सन् २०१४ को जनवरीमा ६ हजार ७७८, २०१५ को जनवरीमा ९ हजार ६३१ र २०१६ मा १० हजार १०० पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका थिए । चालु बर्षको जनवरीमा सबैभन्दा बढी थाई पर्यटक नेपाल आएका छन् ।
कार्यालयको तथ्यांक अनुसार थाई ४ हजार ५९८, म्यान्मारका ३ हजार ५१४, दक्षिण कोरियाका २ हजार ३७, चिनका ५०८, भियतनामका २८४, अमेरिकाका २४४, ताइवानका १७४, अष्ट्रेलियाका १७४, जापानका १४१, इण्डोनेशियाका ११३ जना गरी १२६ मुलुकका पर्यटक नेपाल आएका छन् । स्थल नाका हुँदै नेपाल आउने पर्यटकको मुख्य गन्तब्य बुद्ध जन्मस्थल लुम्बिनी हो ।
बुद्धिष्ट मुलुक थाइल्याण्ड, म्यान्मार, दक्षिण कोरिया, भियतनाम, कम्बोडिया, चिन, जापान लगायतका मुलुकका पर्यटकको मुख्य गन्तब्य लुम्बिनी हो । अन्य युरोपियन तथा अमेरिकन मुलुकका पर्यटकमध्ये केही लुम्बिनी जाने गरेपनि धेरैजसो पर्यटक सिधै काठमाडौं, पोखरा, चितवन र मुस्ताङतर्फ जाने गर्दछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार ०८:२२