सूचनाको शक्ति - The Power Of Information

        

भैरहवा कारागारमा चारगुणा बढी कैदीबन्दी, जीवन जोखिममा


रेनुका गिरी । बुटवल । क्षमताभन्दा चारगुणा बढी कैदी बन्दीहरुलाई एतिहासिक राणाकालीन भैरहवा कारागारमा राख्दा उनीहरुको जीवन जोखिममा परेको छ । एकसय क्षमता भएको उक्त कारागारमा क्षमता भन्दा करिव चारगुणा बढी अर्थात् ३९६ जना कैदीवन्दीहरु रहेको जेलर प्रेम रोक्काले जानकारी दिए । कैदीवन्दीहरुले कारागारभित्र खाना सिधा नियमित पाए पनि चापका कारण रातमा सुत्न नपाई सधैं अनिद्रामा बस्नुपरेको गुनासो गरेका छन् ।
असुविधाका कारण कारागारमा सरुवा एवं भाइरल रोगका विरामीहरु बढेका छन् । कारागारमा दिनहुँ ३०–४० जना बिरामी परिरहने थुनुवा एवं कैदी चौकीदार जोगेन्द्र कहारले बताए । उनले भने, ‘कारागारभित्र दुईवटा मात्रै खानेपानीको धारो छ, चर्पीको अभावले दुःख झेलिरहनु परेको छ ।’ कारागारमा कुल ३९६ जना पुरुष कैदीवन्दीमध्ये १६५ जना लागुऔषध मुद्धाका छन् । जसमा भारतीय १८ जना र अन्य स्थानिय स्वदेशी छन् ।
कारागारका कैदीवन्दीको समस्याबारे गृह र कारागार व्यवस्थापन विभागलाई जानकारी रहेकोरुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । कारागारको भौतिक अवस्था सुधार्ने भन्दा पनि पुर्ननिर्माण एवं स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएकोले सोही अनुसार गृह एवं कारागार विभागलाई जानकारी पठाईएको उनले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार ०७:४९