सूचनाको शक्ति - The Power Of Information

        

बिजुली जोगाउन पंखा र पम्प आयातको तयारी गर्दै विद्युत् प्राधिकरण


काठमाडौं । नेपाल विद्युत् प्राधिरकणले करिब २०० मेगावाट विद्युत् जोगाउने लक्ष्यका साथ कम विद्युत् खपत गर्ने पंखा र पानी तान्ने पम्प आयातका लागि सहजीकरण गर्न थालेको छ । निजी व्यवसायीमार्फत् त्यस्ता पंखा तथा पानी तान्ने पम्प ल्याउन लगाएर विद्युत् जोगाउने योजनामा प्राधिकरण लागेको छ ।
हिउँदको समयमा बढी माग हुने विद्युत् व्यवस्थापन गर्न सफल भएजस्तै गर्मीको समयमा समेत तराई तथा शहरी क्षेत्रमा चल्ने सिलिङ पंखामा कम विद्युत् खपत होओस् र प्राधिकरणको लोड व्यवस्थापनमा सहजता आओस् भन्ने लक्ष्यका साथ त्यस्तो योजना अगाडि सारिएको हो । कम विद्युत् खपत गर्ने पंखा र पानी तान्ने पम्पलाई व्यवस्थित रुपमा देशभर नै सञ्चालनमा ल्याउन सकियो भने त्यसले २०० मेगावाट विद्युत् जोगाउन सकिने प्राधिकरणको बुझाइ छ ।
प्राधिकरणले त्यस्ता पंखा तथा पानी तान्ने पम्प बेच्नका लागि प्राधिकरणका सबै वितरण केन्द्र र जिल्ला कार्यालयहरुमा आवश्यक स्थानसमेत उपलब्ध गराउने भएको छ । व्यापारीले ती स्थानमा नै रहेर कम विद्युत् खपत गर्ने पंखा तथा पानी तान्ने पम्पको कारोबार गर्न सक्नेछन् । प्राधिकरणले हालै एक सूचनामार्फत् कम विद्युत् खपत गर्ने पम्प वा पंखा ल्याउने आशयपत्र पेश गर्न व्यवसायीलाई आग्रह गरिसकेको छ ।
गत बुधबार र बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी त्यस्तो कार्यमा सहभागी हुन प्राधिकरणले आग्रह गरेको हो । गर्मी मौसममा तराई मधेसका विभिन्न स्थानमा दिउँसोको समय सबैभन्दा बढी विद्युत् लोड पर्ने गरेको छ । तराई मधेसका २६ जिल्लामा मात्रै करिब ३५० मेगावाट बराबरको विद्युत् माग घरायसी क्षेत्रमा पर्ने गरेको छ । यस्तै प्रमुख शरही क्षेत्रमा समेत साँझ र विहानको जस्तै विद्युत् माग हुने गरेको छ । त्यसको प्रमुख कारण भनेकै पंखा रहेको प्राधिकरणको अध्ययनबाट देखिएको छ ।
साँझको जस्तै प्राधिकरणको प्रणालीमा करिब ९०० देखि एक हजार मेगावाटसम्मको माग गर्मीका कारण हुने गरेको छ । साँझको विद्युत् व्यवस्थापन गर्न प्राधिकरण सक्षम भएपनि दिउँसोको विद्युत् व्यवस्थापनका लागि थप विद्युत् जोहो गर्न सक्ने अवस्थामा प्राधिकरण छैन । ऊर्जा दक्षता कार्यक्रम लागू भएको अवस्थामा कम विद्युत् खपत गर्ने पंखा ल्याउनु र त्यसलाई एकीकृत रुपमा जडान गर्न सकिएमात्रै दिउँसोको विद्युत् व्यवस्थापनमा सहजता आउने प्राधिकरणको बुझाइ छ ।
कम बिजुली खपत गर्ने पंखा तथा पानी तान्ने पम्पको अभावमा उपभोक्ताको घरमा बढी महशुल उठने गरेको अवस्थालाई समेत त्यसले न्यून गर्न सक्नेछ । बढी महशुल तिर्दा तिर्दा हैरान भएका ग्राहक तथा भोल्टेजको समस्याका कारण दैनिक रुपमा भोग्नु परेको समस्या समेत समाधान हुने प्राधिकरणको बुझाइ छ । प्राधिकरणले निकट भविस्यमा नै कम विद्युत् खपत गर्ने पंखा र पानी तान्ने मोटर पम्प ल्याउन लागेको जनाएको छ ।
बजार प्रवद्र्धन गर्ने र ऊर्जा दक्षता कार्यक्रम अगाडि बढाउने लक्ष्यका साथ प्राधिकरणले पूराना पम्प तथा पंखा विस्थापन गर्न लागेको जनाएको छ । कम विद्युत् खपत गर्ने पंखा वा पानी तान्ने पम्प खदिका लागि प्रक्रिया शुरु भएको जनाएको छ । प्राधिकरणले त्यस्ता पम्प वा पंखा उपलब्ध गराउन सक्ने फर्म तथा संस्थालाई ठेक्का प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । प्राधिकरणका हाल देशभर करिब ३५ लाख ग्राहक रहेका छन् ।
उनीहरुलाई लक्षित गरेर कम विद्युत् खपत गर्ने पंखा र पानी तान्ने पम्प ल्याउन लागेको जनाएको छ । प्राधिकरण आफैंले पनि त्यस्ता पंखा वा पम्प बिक्री गर्नेछ भने व्यवसायीलाई नै बढ्ता जिम्मेवार बनाउन उनीहरु आफैंले पनि त्यस्ता उपकरण ल्याएर बिक्री वितरण गर्न सक्ने व्यवस्था गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ । ऊर्जा दक्षता कार्यक्रम अनुसार निजी व्यवसायीलाई पंखा तथा पानी तान्ने पम्प बिक्री वितरण गर्न प्रस्ताव आह्वान गरिएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
प्राधिकरणले पहिलो चरणमा पंखा र दोस्रो चरणमा पानी तान्ने पम्प ल्याएर बिक्री वितरण गर्न सक्ने जनाएको छ । आगामी चैत १६ गतेभित्र आर्थिक तथा प्राविधिक प्रतिवेदन प्राधिकरणमा बुझाउनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ । प्राधिकरणले तयार पारेको मापदण्डका आधारमा त्यस्ता विद्युतीय उपकरण उत्पादन, बिक्री वितरण तथा मर्मत सम्भार समेत गर्नुपर्ने छ । त्यस्ता उपकरण कम्तीमा पनि ३ वर्षको वारेन्टी हुनैपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतवार ०७:४६