सूचनाको शक्ति - The Power Of Information

        

शुक्लाफाँटामा बाघका तस्वीर संकलन गरिँदै


कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका तस्वीर संकलन कार्य शुरु भएको छ । स्वचालित क्यामराबाट तस्वीर संकलन कार्य शुरु गरिएको हो । कम्प्यूटरमा रहेको सफ्टवेयरको सहायताले बाघका संकलित तस्वीर हेरेर विश्लेषण गर्ने कार्य शुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए ।
‘पाटे बाघको एउटा तस्वीर अर्को तस्वीर सँग मिलाएर हेर्दैछौँ,’ उनले भने । डडेल्धुराको जोगबुढा र चुरे क्षेत्रमा समेत स्वचालित क्यामरामा बाघ देखापरेको उनले बताए । बाघको संख्या कति छ भन्नेबारे तस्वीर विश्लेषणपछि मात्रै थाहा हुने घिमिरेको भनाइ छ । विगतका वर्षहरुको तुलनामा बाघको संख्या बढेको उनी बताउँछन् ।
‘फोटो विश्लेषणपश्चात् संख्या यकिन हुनेछ,’ घिमिरेले भने । शुक्लाफाँटामा गत माघ २० गतेदेखि क्यामरा ट्रयापिङको सहायताले बाघ गणना शुरु गरिएको थियो । बाघ गणनाका लागि चारवटा हात्तीसहित ९० जना प्राविधिकको टोली परिचालन गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चार, जिल्ला वन कार्यालयमा चार, जोगबुढा क्षेत्रमा तीन समूह गरी कूल ११ समूहले एकैसाथ बाघको गणना गरेको घिमिरेले बताए ।
स्वचालित ६० जोर क्यामरा, सन्टो कम्पास, रेञ्ज, फाइण्डर र जिपिएस उपकरणको प्रयोग गरी बाघ गणना गरिएको थियो । कूल पाँच हजार ५०० किलोमिटर क्षेत्रभित्र बाघ गणना गरिएको थियो । डडेल्धुराको जोगबुढा क्षेत्रमा निकुञ्जले पहिलो पटक बाघ गणना गरेको हो । सन् २००९ मा शुक्लाफाँटामा बाघको संख्या १० थियो भने सन् २०१३ मा बढेर १७ पुगेको थियो । सन् २०२० सम्म सरकारले बाघको संख्या दोब्बर पार्ने योजना बनाएको छ ।

चोरी शिकारीका घटना न्यून
वन्यजन्तु संरक्षणमा चासो दिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकारीका घटना न्यूनीकरणमा टेवा पुगेको छ । जनचेतनाको बढ्दो प्रभाव र नियमति गस्तीका कारण चोरी शिकारीका घटनामा कमी आएको हो । सहायक संरक्षण अधिकृत घिमिरेले बढ्दो जनचेतनाको प्रभावका कारण निकुञ्जमा चोरी शिकारीका घटनामा कमी हुँदै आएको बताए । आव २०७१/७२ मा काठ चोरी पैठारीकासम्बन्धी १९ र वन्यजन्तुका पाँचवटा मुद्दा दर्ता भएका थिए ।
आव २०७२/७३ मा काठ चोरी पैठारीका २१ वटा र वन्यजन्तुका तीनवटा मुद्दा दर्ता भएकामा आव २०७३/७४ मा घटेर काठ चोरी पैठारीका १५ र वन्यजन्तुका चारवटा मुद्दा दर्ता भएका थिए । चालू आवको हालसम्म काठ चोरी पैठारीको एउटा तथा वन्यजन्तुका चारवटा मुद्दा विचाराधीन अवस्थामा छन् । चालू आवमा चोरी शिकारीका मुद्दामा वन्यजन्तुमा गोहोरो, मयुर, कछुवा र चित्तल मारेको लगायतका मुद्दा दर्ता गरिएको घिमिरेले बताए ।
‘ठूला जनावर चोरी शिकारी तीनयता भएको छैन,’ उनले भने, चोरी शिकारी नियन्त्रण गर्न ठाउँठाउँमा नेपाली सेनालाई तैनाथ गरिएको छ भने मध्यवर्ती क्षेत्रमा चोरी शिकारी नियन्त्रण समूह परिचालन गरिँदै आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यालय प्रमुख अनिल प्रसाईंले छाडा चौपायाका कारण संरक्षित वन्यजन्तुको वासस्थान नाश हुँदै गएकाले चुनौती थपिएको बताए । संरक्षित जनावरको संरक्षणका लागि वासस्थान र आहारा जोगाउन छाडा चौपाया नियन्त्रण गरिनु पर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतवार ०६:४१