सूचनाको शक्ति - The Power Of Information

        

अपराध अनुसन्धानका लागि कुकुर शाखा !

संघीय प्रहरी इकाई कार्यालय धनगढीको परिसरमा नवनिर्मित प्रदेश–७ को कुकुर शाखा भवनको बिहीबार उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपाल । तस्वीर : सिद्धराज भट्ट

संघीय प्रहरी इकाई कार्यालय धनगढीको परिसरमा नवनिर्मित प्रदेश–७ को कुकुर शाखा भवनको बिहीबार उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपाल । तस्वीर : सिद्धराज भट्ट


सिद्धराज भट्ट । धनगढी । कानून विपरीतका अवाञ्छित एवं आपराधिक काम कसैले गरिरहनुभएको छ भने सावधान रहनुहोला । किनकी अपराधको अनुसन्धान गरी अपराधी पत्ता लगाउन प्रदेश नं ७ को राजधानी धनगढीमा पहिलो पटक आजबाट तालीम प्राप्त कुकुर शाखा ‘डग केनेल’ सञ्चालनमा ल्याइएको छ । सो शाखामा व्यवस्था गरिएका चारवटा तालीम प्राप्त कुकुर अबदेखि अपराध अनुसन्धानमा प्रयोग गर्न लागिएको छ ।
संघीय प्रहरी एकाइ कार्यालय धनगढीको परिसरमा सञ्चालनमा आएको नवनिर्मित कुकुर शाखा भवनको आज प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले उद्घाटन गर्नुभयो । छ वटा कुकुरको बासस्थानसहित नौवटा कोठा रहेको उक्त एक तले कुकुर शाखा भवन रु ५९ लाख २१ हजारको लागतमा निर्माण भएको हो । विष्फोटक पदार्थ कसले र कहाँ राखिएको छ भन्ने पत्ता लगाउन कुकुर शाखामा जर्मन सेफर्ड जातको पोथी कुकुरको व्यवस्था गरिएको छ । यसको बोलाउने नाम ‘झुपा’ राखिएको छ ।
बोलाउने नाम ‘फुच्चे’ रहेको ल्याकाडोर जातको भाले कुकुर लागूऔषधको अनुसन्धान गर्नमा प्रयोग हुन लागेको छ । यस्तै, बोलाउने नाम ‘तुफान’ रहेको जर्मन सेफर्ड जातको अर्को पोथी कुकुर ‘ट्र्याकर’ (बाटो देखाउने) काममा प्रयोग हुन लागेको छ भने ‘राजा’ बोलाउने नाम दिइएको ल्याब्राडोर जातको भाले कुकुर पनि विष्फोटक पदार्थको अनुसन्धान गर्न प्रयोग हुन लागेको छ । कुकुर शाखामा यी तालीम प्राप्त कुकुरको व्यवस्था भएबाट प्रदेश नं ७ मा बेलाबखत हुने आपराधिक घटनाको अनुसन्धान गरी अपराध नियन्त्रणमा टेवा पुग्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक माधबप्रसाद नेपालद्वारा बिहीबार उद्घाटन गरिएको संघीय प्रहरी इकाई कार्यालय धनगढीको परिसरमा नवनिर्मित प्रदेश–७ को कुकुर शाखा भवन । तस्वीर : सिद्धराज भट्ट


‘सल्यानमा दुई वर्षअघि आमाछोरीसहित महिलालाई बलात्कारपछि हत्या गरिएको घटनामा नेपालगन्जबाट मगाइएको तालीमप्राप्त ‘भुन्टी’ कुकुरले घटनाको दुई दिनपछि अपराधी पत्ता लगाएको थियो,’ प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक नेपालले भने, ‘लागूऔषधको कारोबारी, चोरी डकैती गर्ने, हत्यारा पत्ता लगाउने, भिआइपीहरूको सुरक्षा प्रबन्धलगायतका कामका लागि तालीमप्राप्त कुकुर निकै सहयोगी देखिएका छन् ।’ प्रदेश नं ७ मा अन्य घटनाका तुलनामा लागुऔषध कारोबारीका घटना बढ्दै गएको पाइएको छ । भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै लागुऔषधको कारोबार गर्नेहरू बढ्दै गए पनि यसको कारोबार पूर्णरूपमा रोकथाम हुन सकिरहेको छैन ।
कुकुर शाखाका प्रमुख प्रहरी सहायक निरीक्षक मदन गुरुङ कुकुरले आफूसँग रहेको सुँघ्न सक्ने र सुन्न सक्ने क्षमताका आधारमा अपराधी पत्ता लगाउने गरेको बताउँछन् । घरपरिवारको सुरक्षाका लागि निकै आज्ञाकारी मानिने कुकुरको हिन्दू परम्पराअनुसार तिहार पर्वका बेला माला र टीका लगाएर ‘कुकुर तिहार’ समेत मनाइन्छ । विगत १६ वर्षदेखि तालीम प्राप्त कुकुरको प्रयोग गरी अपराध अनुसन्धानमा संलग्न रहँदै आएका गुरुङले भने, ‘मानिसको भन्दा कुकुरमा सुँघ्न सक्ने क्षमता ५० गुणा, सुन्न सक्ने क्षमता २० गुणा र देख्न सक्ने क्षमता छ गुण बढी हुने हुँदा तालीमप्राप्त कुकुरको प्रयोगमार्फत अपराधी पत्ता लगाउन सहज हुने गरेको छ ।’
यी कुकुरलाई अपराधी पत्ता लगाउने काममा प्रयोग गर्नुअघि शुरुमा ४५ दिने आज्ञाकारी तालीम दिएर दक्ष बनाइन्छ । त्यसपछि विषयगत तालीम दिनुपर्ने हुन्छ । एउटा कुकुरलाई आफ्नो क्षेत्रमा दक्ष बनाउन दुई वर्षभन्दा बढी समय लाग्ने गरेको अनुभव गुरुङले सुनाए । ‘ट्र्याकर’ (बाटो देखाएर अपराधीसम्म पुग्ने काम)मा प्रयोग गरिने कुकुरलाई तीन महिने तालीम दिनुपर्ने हुन्छ । ‘ब्लड हण्ड’ जातको कुकुरमा अन्य जातका कुकुरको तुलनामा बढी सुँघ्ने र सुन्ने क्षमता हुन्छ । नेपालमा यो जातको कुकुर पहिलो पटक अमेरिकाबाट भित्र्याएर हाल तालीम दिने काम भइरहेको बताइको छ । रासस

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार ११:५१