सूचनाको शक्ति - The Power Of Information

        

पर्यापर्यटन आरम्भको जानकारी दिन बाँकेमा युवा जागरण अभियान


बाँके । बाँके राष्ट्रिय निकुञ्जमा हुने दुर्लभ वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न स्थानीय समुदायसँगको सहकार्य अभियान उपलब्धिमूलक बनाउन चोरी सिकार नियन्त्रण युवा जागरण राष्ट्रिय अभियान–२०७४ तयारी भव्य बनाइएको छ ।
स्थानीय युवा, शिक्षक–शिक्षिका, विद्यार्थी, कृषक लगायतलाई जनप्रतिनिधि, शिक्षित व्यक्ति र जनप्रतिनिधिहरूलाई आफ्नै किसिमले वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न सक्रिय बनाउँदै आएको बाँके राष्ट्रिय निकुञ्जमा युवा जागरण राष्ट्रिय अभियान सञ्चालन गर्न लागिएको हो ।
दुर्लभ वन्यजन्तु चोरी सिकारका लागि सरोकार राख्ने सम्बद्ध निकायहरूसँग सहकार्य गरी संरक्षण र सुरक्षाको कार्यक्रम सञ्चालन गरेकै कारण अभियान गर्ने जिम्मा बाँके निकुञ्जले पाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जामगरले जानकारी दिए ।
निकुञ्जले समुदायसँगको सहकार्यलाई प्रभावकारी बनाउन निकुञ्ज–नागरिक सम्बन्ध बलियो तुल्याउने कार्य भइरहेको पनि उनले बताए । निकुञ्ज क्षेत्रको संरक्षणका लागि सञ्चालन गरिएका गतिविधिमध्ये नागरिकलाई जनचेतना महत्वपूर्ण पक्षका रूपमा राखिएको छ ।
अभियानका बारेमा जानकारी दिन मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज र निकुञ्ज भित्रका दुर्लभ वन्यजन्तुका कारण पर्यटन व्यवसाय फस्टाउन थालेको जनाइएको छ । यसको प्रचारप्रसार गर्न युवा जागरण अभियान थालिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले जानकारी दिए ।


अध्यक्ष खड्काले सर्वसाधारणको सर्वसाधारणले दुर्लभ वन्यजन्तु हुँदा र नहुँदाको फाइदाबारे जानकारी पाएको बताए । बाँके राष्ट्रिय निकुञ्जबाट हुने दुर्लभ वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न र निकुञ्ज अतिक्रमण नियन्त्रण गर्न निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले सरकारी तथा गैरसरकारी निकायका अतिरिक्त स्थानीयवासीसँग सहकार्यका लागि हात बढाइरहेको छ ।
निकुञ्जले स्थानीयसँगको समन्वयमा वन र वन्यजन्तुको संरक्षण तथा सुरक्षाबाट हुने फाइदा, पर्यटन प्रवद्र्धनसँगै आयआर्जनमा आउने परिवर्तन र वातावरणीय सन्तुलनका विषयमा जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । चोरी सिकार नियन्त्रण युवा समुहका अध्यक्ष कृष्ण चौधरीले भने, ‘स्थानीयको आर्थिक तथा सामाजिक स्तर उकास्न युवा जागरण अभियान सञ्चालन गरिएको छ ।’
निकुञ्ज स्थापनासँगै चोरी सिकार नियन्त्रण भएको बताउँदै अध्यक्ष चौधरीले हरेक बर्षको मार्च ३ गतेका दिन यो अभियान मनाइन्छ । सोही अनुसार यसपटक अभियान सञ्चालनको जिम्मा बाँके निकुञ्जले पाएको जानकारी दिए । अध्यक्ष चौधरीले भने, ‘अभियानका लागि सबै तयारी पुरा भएको छ । अभियानमा आवद्ध १५ सय युवाहरुको सहभागिता रहन्छ ।’
‘युवाको जागरण : बाघ चितुवाको संरक्षण’ भन्ने नाराका साथ मनाइने अभियानका क्रममा बाँके निकुञ्जमा हात्ती सफारीको उद्घाटन गरी पर्यापर्यटनको आरम्भ भएको जानकारी दिइनेछ । त्यसैगरी संरक्षण सम्बन्धी विशेष जानकारीमूलक तथ्यहरु प्रस्तुत गरिने प्रमुख संरक्षण अधिकृत पुर्जामगरले जानकारी दिए ।
बाँके निकुञ्ज स्थापन भएयता निकुञ्जमा बाँघको संख्या १३ पुगेको छ भने सोही अनुसार अन्य जंगली जनावरहरुको संख्यामा पनि वृद्धि भइरहेको छ । त्यसैगरी हात्ती सफारीका लागि १० वटा हात्तीको दरबन्दी रहेको निकुञ्जमा ४ वटा हात्ती आइसकेका छन् भने ६ वटा हात्ती आउने प्रक्रियामा रहेको निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार ०९:१८