सूचनाको शक्ति - The Power Of Information

        

मर्यादितरुपमा होली मनाउन धर्मगुरुको अपिल


बाँके । नेपालगन्जका धर्मगुरुहरुले होली पर्व मर्यादित र शान्तिपूर्णरुपमा मनाउन अपिल गरेका छन् । बाँके जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बुधबार भएको छलफलपछि हिन्दू धर्म गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना मन्सुर मन्जरी र मौलाना अब्दुल जव्बार र सिख धर्मगुरु राजेन्द्रसिंह सरदारले यस्तो अपिल गरेका हुन् ।
आज र भोलि दुई दिन जिल्लामा मनाइने होली पर्वलाई दृष्टिगत गरी धार्मिक गुरुहरुसँग छलफल गरिएको थियो । प्रजिअ रमेशकुमार केसीको नेतृत्वमा भएको छलफलमा होली पर्वलाई धार्मिक तथा सामाजिक सद्भावयुक्त बनाउने सन्दर्भमा छलफल भएको थियो । बैठकमा विशेषतः बाँके जिल्लामा मनाइने होली पर्व शुक्रबार परेको र शुक्रबार नै मुस्लिम धर्मावलम्बीको नमाज पढ्ने दिन भएकाले उच्च सतर्कता अपनाउनुपर्ने विषयमा छलफल गरिएको थियो ।
यसैबीच, बुधबार बसेको बाँके जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सम्पूर्ण शान्ति सुरक्षा अवस्थाको समीक्षासमेत गरेको छ । प्रजिअ केसीको अध्यक्षतामा बसेको बैठकमा आज र भोलि मनाइने होलीमा कुनै व्यवधान आउन नदिन अपनाउनुपर्ने सुरक्षा रणनीति पनि तय गरेको प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिए । बैठकमा जिल्लाका सबै सुरक्षा अंगका प्रमुखको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार ०४:०८