सूचनाको शक्ति - The Power Of Information

        

गाउँमा हात्तीपाइलेको औषधि सेवन गर्ने बढे


ठाकुरसिंह थारू । बाँके । जिल्लाका गाउँमा हात्तीपाइलेको औषधि खाने धेरै पाइएको छ । विकट मानिने नरैनापुर गाउँपालिकामा दुई दिनमै करिब ९० प्रतिशतभन्दा बढीले औषधि सेवन गरेका छन् । नेपालगन्ज नगरपालिकामा २५ प्रतिशतले मात्रै औषधि खाए । नगरपालिकामा कमले औषधि सेवन गरेकाले जिल्लामा औषधि प्रयोगको प्रतिशत घटेको देखिएको छ ।
‘जति प्रयास गर्दा पनि नेपालगन्जमा हात्तीपाइलेविरुद्ध औषधि प्रयोगकर्ता बढ्न सकेनन् । प्रयास भने जारी राखेका छौं,’ जिल्ला जनस्वास्थ्य प्रमुख खिमबहादुरखड्काले भने, ‘नेपालगन्जमा औषधि सेवन गराउन जनप्रतिनिधिहरूसँग छलफल गर्दैछौं ।’ जिल्लामा ८ स्थानीय तह छन् । कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी, राप्ती सोनारी, डुडवा र नरैनापुर गाउँपालिकाका अधिकांशले औषधि प्रयोग गरे ।
बुथमा औषधि प्रयोग गर्न छुटेका सर्वसाधारणका लागि स्वास्थ्य कार्यकर्ता र स्वास्थ्यकर्मीले घरदैलो गरिरहेका छन् । उनीहरूले घरमै पुगेर औषधिको फाइदाबारे जानकारी दिँदै प्रयोग गर्न लगाइरहेका छन् । ग्रामीण क्षेत्रका सर्वसाधारणले निर्वाधरूपमा औषधि सेवन गरिरहँदा नगरमा अभियान सफल हुन सकिरहेको छैन । जनस्वास्थ्यले भने घरघर पुगेर भए पनि नगरका सर्वसाधारणलाई औषधि प्रयोग गर्न लगाउने जनाएको छ । नेपालगन्ज नगरमा हात्तीपाइले रोगविरुद्व औषधि प्रयोगबारे भ्रम फैलाइएको छ ।
औषधि प्रयोगपछि बिरामी हुने, मृत्युसम्म हुनेजस्ता गलत प्रचारले नगरमा अभियान सफल हुन नसकेको हो । औषधिले जीवाणु मरेपछि हात्तीपाइलेको जोखिमबाट जोगिने सन्देशले व्यापकता पाउन सकेको छैन । ‘ग्रामीण क्षेत्रका सर्वसाधारणले औषधि प्रयोग गर्दा केही भएको छैन । नगरमा भने नकारात्मक असर देखिन्छ भन्ने भ्रम मात्रै फैलाइयो,’ बाँकेका स्वास्थ्य प्रमुख खड्काले भने, ‘यसलाई विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको छ । संसारभरि यही औषधि प्रयोग गरिन्छ । त्यसैले निर्धक्क प्रयोग गर्दा हुन्छ ।’ तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती महिला, सात दिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्षभन्दा माथिका र २४ घण्टाभित्र ज्वरो आएका र कडा कुपोषण भएका ५ वर्षमुनिका बालबालिकालाई औषधि सेवन नगर्न चिकित्सकले सुझाव दिएका छन् ।
त्यसबाहेक जोसुकै व्यक्तिले ढुक्क भएर औषधि प्रयोग गर्न सक्ने उनीहरूको अनुरोध छ । सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्न विश्वव्यापी अभियान नेपालमा पनि सुरु भएको हो । नेपालगन्ज नगरमा भने थोरैले मात्र औषधि प्रयोग गर्दा बाँकेमा सञ्चालन भएको अभियान कमजोर देखिएको छ । यसका लागि हरेक वर्ष करिब १ करोड रुपैयाँ खर्च हुँदै आएको छ । एउटा वर्गले हरेक वर्ष औषधि प्रयोग गर्ने तर अर्कोले नगर्दा बाँके उक्त रोगको उच्च जोखिममा छ । यहाँका एक सय व्यक्तिमध्ये १३ जना हात्तीपाइलेका बिरामी छन् । यस्तो रोग लागेका व्यक्तिबाट लामखुट्टेका माध्यमले अर्कोमा सहजै सर्ने हुँदा जिल्ला उच्च जोखिममा परेको हो ।
यस वर्ष स्वास्थ्यकर्मीको निगरानीमा मात्रै औषधि प्रयोग गर्न लगाइएको छ । बाँकेमा आठ वर्षदेखि अभियान जारी छ । गत वर्ष ७३ प्रतिशतले औषधि प्रयोगगरेका थिए । यस वर्ष अरू बढ्ने विश्वास गरिएको छ । हात्तीपाइलेको जीवाणु भएका व्यक्तिले त्यसविरुद्ध औषधि प्रयोग गरेपछि जीवाणु मर्दा रिंगटा, वाकवाकी लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने, गुप्ताङ सुनिनेलगायत समस्या देखिन सक्छ । त्यसका लागि चिकित्सक टोली परिचालन गरिएको छ । यस वर्ष ५ लाख ३५ हजार ७९७ जनालाई औषधि खुवाउने तयारी छ । कान्तिपुरबाट

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ०८:३१