सूचनाको शक्ति - The Power Of Information

        

कक्षाकोठाको अभावमा चौरमा पढाइ


जाजरकोट । जाजरकोटको जुनिँचादे गाउँपालिका–७ निपानेमा रहेको पुतली निम्न माध्यमिक विद्यालयका विद्यार्थी कक्षाकोठाको अभावमा खुला चौरमा पढ्न बाध्य छन् । विगत आठ वर्षपहिले जिटीजेट नामक एक गैरसरकारी संस्थाले सात कोठे भवननिर्माण गरेको थियो । हाल, सोही भवनका दुई कोठामा पौष्टिक आहार र भान्साको रूपमा प्रयोग गर्दै आएकोले विद्यार्थीलाई पठनपाठनमा समस्या देखिएको व्यवस्थापन समितिका अध्यक्ष नैनसिंह घर्तीले बताए ।
विकासको लागि दुई कोठे भवन जिल्ला शिक्षा कार्यालय जाजरकोटबाट निर्माण गरिएको थियो । निमार्ण भवन गत वर्षको बाढीले जीर्ण बनाए पनि अझै मर्मत गरिएको छैन । यसले विद्यार्थीलाई पठनपाठन गर्न समस्या भएको अध्यक्ष घर्तीले बताए । कक्षा १ देखि ८ सम्म २५० विद्यार्थी अध्यायनरत रहेको विद्यालयमा अहिलेसम्म पाँचवटा कक्षा कोठामा पठनपाठन गराउँदै आइएको छ । जसले गर्दा विद्यार्थीहरू विद्यालय अगाडिको चौरमा बसेर पढ्न बाध्य छन् ।
विद्यार्थी विद्यालय जाँदा कापी, किताबको साथमा आफू बस्ने बोरा या चकटी बोकेर जाने गरेका छन् । विद्यालयको वरिपरी स्थानीयले घरटहरा बनाएका कारण विद्यार्थीलाई खेल्ने ठाँउको समेत अभाव छ । धुलोको कारणले गर्दा पनि विद्यार्थीहरू बेलाबेलामा बिरामी पर्ने गरेको स्थानीयवासी राजेन्द्र रोकायले बताए । प्रधानध्यापक मानबहादुर बुढाका अनुसार विद्यालयमा पाँचवटा मात्र कक्षाकोठा भएको कारण हाल १ र २ कक्षाका विद्यार्थीलाई एउटा कक्षाकोठा तथा ३ र ४ कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर पढाउने गरिएको छ ।
कक्षाकोठामा विद्यार्थी नअटाएपछि खुल्लाचौरमा राखेर पढाउनुपर्ने बाध्यता रहेको हो । कोठा अभावकै कारण चर्को घाम लाग्दा, पानी पर्दा र शितलहर चलेको समयमा विद्यालय बन्द हुने गरेको छ । जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले यो समस्याको बारेमा स्थानीयवासीले हालसम्म धेरैपटक माग गरेकोले समस्याको समाधानको लागि तत्कालै प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ०८:१२