सूचनाको शक्ति - The Power Of Information

        

अटोरिक्सा चलाएर परिवार पाल्दै कृष्णकुमारी


बाँके । कोहलपुर नगरपालिका–२ बस्ने कृष्ण कुमारी चौधरीले विगत तीन वर्षदेखि अटोरिक्सा चलाएर आफ्नो ६ जनाको परिवार पालिरहेकी छिन् । सानैदेखि मिहिनेती चौधरीले ३ वर्षअघि अरुले चलाएर रामै्र आम्दानी गरेको सुनेपछि आफूलाई पनि रहर लागेर अटोरिक्सा चलाउन लागेको तर आज यही नै आफ्नो र परिवार पाल्ने बाध्यकारी पेशा भएको बताइन् ।
उनले रु १ लाख ५० हजारमा ‘सेकेण्डह्याण्ड’ अटोरिक्सा किनेर कोहलपुर र यस आसपासका क्षेत्रमा चलाउदै आएकि छिन् । कृष्णको घरमा आफु, श्रीमान, ५ बर्षकी एक छोरी, सासुससुरा र एक भाइ गरी ६ जनाको परिवार रहेको छ । कृष्णले भनिन्, ‘सबैलाई यही अटोको कमाईले पाल्ने हो । महिनामा रु २० हजार किस्ता तिर्नु पर्छ । दिनको रु १ हजार देखि १२ सयसम्म बच्छ । कहिले धेरै त कहिले थोरैमा पनि चित्त बुझाउनु पर्छ । यसैबाट गुजारा चलिरहेको छ ।’
ऐलानी थोरै जग्गामा एक कच्ची घर रहेको र त्यसैमा दिन बितिरहेका बताउने कृष्ण कुमारी चौधरी ट्राफिक प्रहरीको व्यवहार देखेर हैरान हुने गरेको बताउँछिन् । कृष्णले भनिन्, ‘मसँगै लाइसेन्स र अटोरिक्साको ब्लुबुक हुन्छ, तर पनि ट्राफिक प्रहरीले अनावश्यक रुपमा दुःख दिन्छ ।’ उनको दुखेसो छ, सोझासिधा मानिसहरुलाई आफैले केही गरेर आफ्नो परिवार पालौं भन्दा नि अनावश्यक दुःख दिइन्छ जस्तो लाग्छ ।
उनी भन्छिन्, ‘केटाहरु अटोमा चढेपछि अलि टाढाको दुरीसम्मको यात्रा गर्दा तपाईको बुढा घरमा छन् कि छैनन् भनी सोध्छन् ।’ कुरा गर्दै गर्दा कतिपयको केटाहरुको नियत ठिक नभएको आभाष पाएपछि उनी सचेत हुन्छिन् । ‘त्यस्तोलाई घरमै यही हुनुहुन्छ भनिदिन्छु । तर अति परिपक्क मानिस वा असल नियतले बोलेको छ भने विदेश हुनुहन्छ भन्छु,’ उनले भनिन् ।
कुराकानीकै क्रममा उनी भन्छिन्, ‘अझै पनि हाम्रो समाजले एउटै प्रकृतिको काम गर्दा पनि महिला र पुरुषका समस्याहरु फरकफरक छन् ।’ तर उनलाई महिला भएकाले डर लाग्छ र उनी प्रायः अँध्यारो नहुँदै घर पुग्छिन् । कृष्ण आफू र परिवारको आर्थिक जोहो गर्न कसैकहाँ हात थाप्न जान नपरेकाले ढुक्कसँग बाँचेको जस्तो लागेकोमा खुशी छिन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ०८:०८