सूचनाको शक्ति - The Power Of Information

        

अटोरिक्साले परिवारमा ल्याएको खुशी


कञ्चनपुर । कमजोर आर्थिक अवस्थाका कारण १२ वर्षकै उमेरमा पढाइ छाडेर भारतको राजधानी नयाँ दिल्लीमा दुई दशकसम्म मजदुरी गरेका जयलाल लुहार हिजोआज महेन्द्रनगरमै अटोरिक्सा चलाएर आम्दानी गर्न थालेका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ वनकट्टीका ३५ वर्षीय लुहारले अटोरिक्सा चलाएर आम्दानी गरेसँगै उनको परिवारमा खुशी छाएको छ ।
दैनिक अटोरिक्सा चलाएर उनले दैनिक रु एक हजार दुई सयदेखि रु एक हजार चार सयसम्म आम्दानी गर्दै आएका छन् । ‘बीस वर्ष भारतमा काठ मिस्त्रीको काम गरेर घरखर्च चलाए,’ उनले भने, ‘परिवार अलपत्र पारेर विदेशिनुभन्दा यतै रिक्सा चलाउँदा ठिक लाग्यो ।’ आफूसित वनकट्टीमा भएको एक कठ्ठा जग्गाको पूर्जा सहकारीमा धितो राखेर उनले रु पाँच लाख ५० हजारमा अटोरिक्सा खरिद गरेका हुन् ।
‘भारतको जागिर छाडेर यहाँ आएको तीन महिना भयो,’ लुहारले भने, ‘घरमै बसेर आयआर्जन गर्दा छोराछोरीदेखि श्रीमतीसम्म खुशी छन् ।’ परिवारका सदस्यलाई पनि आफू घरमा रहँदा भरोसा हुने उहाँ बताउँछन् । उनले भने, ‘शुरुका दुई वर्ष भारतमा निःशुल्क काम गरेँ ।’ रोजगारीका लागि तेस्रो मुलुक जाने सोचमा रहनुभएका लुहार महेन्द्रनगर बजारमा केही समययता सञ्चालनमा आएका अटोरिक्साले आफ्नो ध्यान तानेको बताउँछन् ।
दैनिक उनी सात किलोमिटर पार गरेर अटोरिक्सा चलाउन महेन्द्रनगर बजार पुग्छन् । उनकी श्रीमती मोहनाले श्रीमानले स्वदेशमै मजदुरी गर्दा खुशी व्यक्त गरिन् । ‘घरआँगनमै आम्दानी गर्न सकिएपछि छोराछोरी निकै खुशी छन्,’ उनले भने, ‘बीस वर्षपछि परिवारसित सुखदुःख साँटेर बस्न पाइएको छ, अटोरिक्साले परिवारमा खुशी ल्याएको छ ।’
त्यसैगरी, स्नातक तहको अध्ययन छाडेर ई–रिक्सा चलाउँदै आएका बेदकोट नगरपालिकाका सञ्जय राना रिक्साको आम्दानीबाट सन्तुष्ट छन् । ‘खर्च कटाएर दैनिक रु सात÷आठ सय जोगिन्छ,’ उनले भने, ‘कमाएको पैसाबाट रिक्साको ऋण तिर्दैछु ।’ राना विगत एक वर्षदेखि ई–रिक्सा चलाउँदै आएका छन् । पछिल्लो समय महेन्द्रनगरमा ई–रिक्सा रोजगारीको मुख्य आकर्षण बनेको छ ।
‘पढेर पनि यहाँ रोजगारी पाउन कठिन छ,’ रानाले भने, ‘ऋण काडेर भए पनि सानोतिनो व्यवसाय गर्नुको विकल्प छैन ।’ उनले पछिल्लो समय आफूजस्तै बेरोजगार युवा रिक्सा चलाएर आम्दानी गरिरहेको बताए । पुरुष मात्र होइा महिलाले समेत अटो÷ई रिक्सा चलाएर आम्दानी गर्दैआएका छन् । बरोजगार युवायुवतीका लागि ई–रिक्सा रोजगारीको भरपर्दो माध्यम बनेको छ ।
डेढ वर्षदेखि महेन्द्रनगरमा अटोरिक्सा चलाउँदै आएका भीमदत्तनगरपालिका–७ हल्दुखालका वीरेन्द्र भट्टले दैनिक आम्दानीबाट परिवारको खर्च चलाउँदै आएको बताए । अटोरिक्सा चलाउनुअघि ठेलाको व्यापार गर्दै आएका भट्टले हाल रिक्साबाट दैनिक रु आठ सयदेखि रु एक हजार ५०० सम्म आम्दानी गरिरहेका छन् । उनले भने, ‘अटोरिक्साको कमाइले नै घरपरिवारको खर्च धानिएको छ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ०७:५७