सूचनाको शक्ति - The Power Of Information

        

चार वर्षदेखि अस्थायी छाप्रोमै बाढीपीडित

फाइल तस्वीर


सुर्खेत । जानकी सुनारको न्वारन गरेको एक दिन मात्र भएको थियो, उनको घरजग्गा पहिरोले बगायो । धन्न जानकीलाई केही भएन । परिवारका अरू सदस्य पनि जोगिए । यो २०७१ साउन २९ को घटना हो । उनीहरूको घर सुर्खेत, भेरीगंगा नगरपालिका, पाँडुलेमा पर्छ । साबिकमा लेखपराजुल गाविस–९ थियो ।
पहिरोले घरजग्गा बगाएपछि केही दिन आफन्तकहाँ बसे । त्यसपछि सुर्खेत–नेपालगन्ज सडकछेउ पाँडुले जंगलमा अस्थायी शिविरमा बस्न थाले । अस्थायी के भन्नु ! त्यही शिविरमा हुर्केर जानकी चार वर्षकी भइसकिन् । जानकीका बाबु धर्मेन्द्र र आमा खगिसरा बजारमा मजदुरी गर्छन् । मजदुरी नपाएका बेला छेउको खोलामा गिट्टी कुट्छन् । त्यसैको कमाइले परिवारको गुजारा चल्छ ।
२०७१ को बाढीपहिरोबाट बचेका थुप्रै परिवारले चार बर्खा र चार हिउँद अस्थायी भनिएको शिविरमै काटिसके । अहिले यही शिविर स्थायी बासजस्तो लाग्न थालेको उनीहरू बताउँछन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार त्यस वर्ष बाढीपहिरोले यहाँका विभिन्न ठाउँ गरी १ हजार १५९ घरमा पूर्ण क्षति पुगेको थियो । २५५ घर आंशिक क्षतिमा परेका थिए । घटनामा २४ जनाको ज्यान गएको थियो भने ९१ जना बेपत्ता भए ।
सरकारले बेपत्ताका परिवारलाई मृतकसरह राहत उपलब्ध गराएको थियो । पीडित परिवारहरू वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र, भेरीगंगाको पाँडुले र पञ्पुरीको गिरीघाटका अस्थायी शिविरमा बस्दै आएका छन् । पाँडुले शिविरमा मात्र आठ परिवार बस्छन् । उनीहरूको आर्थिक उपार्जनको बाटो मजदुरी र खोलाछेउ गिट्टी कुट्ने हो ।
अस्थायी शिविरको बन्दोबस्त भए पनि सरकारबाट अन्य राहत नपाउँदा धेरैले भग्नावशेष घर उभ्याउन सकेका छैनन् । मजदुरीको कमाइ हरेक दिनको गर्जो टार्दैमा ठिक्क हुन्छ । कतिले त्यतिले नपुगेर ऋणपान गर्छन् । केहीले भने जसोतसो घर उभ्याए । पछिल्लो स्थानीय, केन्द्रीय तथा प्रान्तीय निर्वाचन क्रममा भोट माग्न आउनेले बाढीपीडितको पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाएका थिए ।
त्यतिबेला रातदिन उनीहरूका समस्या सुन्न आउने नेताहरूले अहिले पुनर्थापनामा सिन्को भाँचेका छैनन् । साबिकको लेखपराजुल–९ कै मनविर विकले अस्थायी शिविरमा चार वर्ष गुजारेपछि यसपालि बल्ल छाप्रो भत्काएर नयाँ बनाएका छन् । त्यो पनि पुरानो ठाउँमा होइन, शिविरभित्रै । शिविरमै छँदा गएको असारमा उनका छोराले छिमेक गाउँकी कौशिला सुनारसँग बिहे गरे । छाप्रो सानो भएकाले विधिवत विवाह भने हुन सकेको छैन । नयाँ छाप्रो बनेपछि बुहारी भित्र्याउने सुरसार हुँदैछ । विकका एक छोरा र छ छोरी छन् । तीन जना छोरीको बिहे भइसक्यो ।
बाँकी छोरी र छोराको पढाइसँगै अन्य खर्च व्यवस्थापन गर्ने मनविर एक्ला हुन् । उनी कहिले भारत गएर मजदुरी गर्छन् त कहिले गाउँमै काम गर्छन् । ‘पहिले पाँच कोठाको घर थियो, गाई, गोरु, बाख्रा, कुखुरा थिए,’ मनविरकी पत्नी सुशीलाले भनिन्, ‘आफ्नै उब्जनीले वर्षभरि खान पुग्थ्यो । अहिले साँझ–बिहानकै छाक टार्न मुश्किल छ । निर्वाचन बेला हामीकहाँ भोट माग्न आउनेले जितेको २५ दिनभित्र सबै व्यवस्था गरिदिन्छौं भनेका थिए, अहिले चिन्नै छाडिसके ।’
कति नेताले त फोन पनि उठाउन छाडेको मनविरकी छोरी दिस्माले बताइन् । ‘हामीले फोन गर्यौं भने पनि त्यतिबेला चुनाव जितेकाहरूले आजभोलि हाम्रो फोन उठाउनुहुन्न,’ उनले भनिन्, ‘अब उनीहरूबाट आस पनि लाग्न छाड्यो ।’ त्यही शिविरमा बस्ने १२ वर्षीय विनोद डाँगी मजदुरी गरेरै पढाइ खर्च जुटाउँदै आएको बताउँछन् । कक्षा ७ मा पढ्ने उनी विदा बेला मजदुरी गर्छन् । सुर्खेतमा २०७१ को बर्खा २२ वर्षकै ठूलो थियो । यसले साविकका लेकपराजुलसहित वीरेन्द्रनगर, हरिहरपुर लगायत ठाउँमा बढी क्षति भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ०७:३३