सूचनाको शक्ति - The Power Of Information

        

लुम्विनी अञ्चल अस्पताल स्थापनाको १०८ वर्ष पुरा, ४०० स्वीकृत बेड, २१० सञ्चालनमा


रेनुका गिरी । बुटवल । रुपन्देहीमा रहेको लुम्बिनी अञ्चल अस्पताल स्थापना भएको मंगलबारबाट १०८ वर्ष पुरा भएको छ । सोे अवसरमा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । लुम्बिनी अञ्चल अस्पताल विकास समितिको आयोजनामा स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण गरिएको हो ।
राणा प्रधानमन्त्री चन्द्र समसेरको पालामा बि.सं. १९६७ फागुन १५ गते बुटवल डिष्टेन्सरीको रुपमा मणिमुकुन्द उद्यानमा रहेको मणिमुकुन्द सेनको सितकालिन दरवारको एउटा कोठामा ६ शैयाको अस्पताल स्थापना भएको थियो । त्यस्तै भिम शमसेर प्रधानमन्त्री हुँदा बि.सं. १९८८ मा उक्त अस्पताललाई अहिले रहको बुटवल रक्त सञ्चार सेवा केन्द्र नजिकै स्थानान्त्रण गरिएको थियो भने २०१६ सालमा अहिले अस्पताल रहेको स्थानमा अस्पतालको भवन सिलान्यास गरिएको थियो ।
भवन निर्माण सम्पन्न भएसंगै २०२४ सालमा अस्पतालको स्तरबृद्धि गरि लुम्बिनी अञ्चल अस्पताल बनाईयो भने ५० शैयाको अस्पताललाई अहिले भएको स्थानमा स्थानान्त्रण गरिएको थियो । त्यस्तै २०५० सालमा ५० शैया थप गरि सय शैयाको अस्पताल बनाईयो । २०७२ मा अस्पतालको स्तरबृद्धि संगै सरकारको ३ सय र विकास समितिको सय गरी ४ सय शैयाको अस्पताल भएपनि भौतिक पूर्वाधारको अभावमा अहिले २१० शैया मात्रै सञ्चालनमा छन् ।
अस्पतालमा भौतिक पूर्वाधार अभाव र आवश्यकता अनुसारका दक्ष जनशक्तिको अभावमा स्वीकृत शैया सञ्चालन गर्न नसकिएको अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालले बताउनु भयो । अहिले अस्पतालमा २०१६ सालमा निर्माण गरिएको भौतिक पूर्वाधारमा सञ्चालन गरिरहनु परेकाले थप भौतिक पूर्वाधार निर्माण नगरी स्वीकृत शैया अनुसार सञ्चालन गर्न नसकिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालले बताए ।
लुम्बिनी अञ्चल अस्पतालमा सरकारी तर्फ ३४२ जनाको दरवन्दी छ भने बिकास समिति तर्फ १६२ जनाको स्थायी दरवन्दी छ । १६२ जनाको दरवन्दी रहेको बिकास समिति मार्फत अहिले २३५ जना कर्मचारी काममा रहेका छन् । त्यसमध्ये दरवन्दी भन्दा बढी कर्मचारी ४३ जना करारमा हुन् भने ३० जना दैनिक ज्यालादारीका कर्मचारी हुन् ।
अस्पताल बिकास समितिमा हुने राजनीतिक नियुक्ति र बिकास समितिले आफू अनुकुल हुनेगरी दरवन्दी भन्दा बढी कर्मचारी राख्दा पनि दक्ष जनशक्ति अभाव भईरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका सबै पक्ष नराम्रा मात्रै नभएर राम्रा पनि भएकाले नराम्रा पक्षलाई सुधार गर्दै जाने हो भने अस्पताल सुधार गर्न सकिने पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा राजेन्द्र राजेन्द्र खनालले बताए ।
लुम्बिनी अञ्चल अस्पतालमा हाल जनरल मेडिसिन, जनरल सर्जरी, बालरोग, अर्थोपेडिक सर्जरी, नाक कान घाँटी, स्त्री तथा प्रसुती, दाँत, छाला, साईक्याट्रि (मानसिक रोग), मुटु रोग, आन्द्रा तथा पेट, प्याथोलोजी र रेडियोलोजी सेवा गरी १३ विभागीय सेवा प्रदान गर्दै आईरहेको अस्पतालको सूचना अधिकारी लक्ष्मीराज रेग्मीले बताए । अस्पतालमा दक्ष जनशक्ति तथा मौजुदा रहेका भौतिक पूर्वाधार मात्रै नभएर स्थानसमेत साँघुरो भएको मेडिकल सुपरिटेण्डेन्ट डा. खनालको भनाई छ ।
२०५२ सालमा नापी कार्यालयले दिएको विवरण अनुसार लुम्बिनी अञ्चल अस्पतालको जग्गा ८ विगाहा ८ कट्ठा रहेकोमा अहिलेको विवरणमा ६ विगाहा १२ कट्ठा मात्रै छ । त्यस विचमा अस्पतालको १ विगाहा १६ कट्ठा जग्गा हराएको र त्यसको खोजी गरिदिन राजनीतिक दल, सामाजिक संघसंस्थालाई अस्पताल प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ०३:५८