बाँके । बाँकेमा ट्राफिक प्रहरीका दुईवटा कार्यालय छन्, जिल्ला ट्राफिक प्रहरी कार्यालय र क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय । जिल्ला ट्राफिक प्रहरीले जिल्लाको ट्राफिक व्यवस्थापनको कामलाई चुस्त दुरुस्त बनाउने हो भने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले मातहतका जिल्ला प्रहरी कार्यालयहरुले गरेका काम कारबाहीको अनुगमन र मूल्यांकन गरी आफ्नो कार्य सञ्चालन गर्ने भन्ने आम बुझाई हो ।
बाँकेमा भने ट्राफिक प्रहरीको ध्यान आम नागरिकको बुझाई भन्दा भिन्न छ । नेपालगन्जमा दैनिकजसो सवारी साधनको संख्यामा वृद्धि भइरहेको छ । साँघुरा सडकका कारण यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । खासगरी नेपालगन्जको मुख्य सडक सुर्खेतरोड ओहोरदोहोर गर्ने सवारी साधनको चापका कारण निकै व्यस्त बन्ने गरेको छ । ‘सवारी चाप बढिरहेको छ, ट्राफिक व्यवस्थापन शुन्यजस्तै छ,’ नेपालगन्ज–२० मनिकापुरका मनोज रोकायले भने ।
मध्य तथा सुदूरपश्चिमको केन्द्रविन्दुका रुपमा रहेको नेपालगन्ज आम नागरिकले सोचेजस्तो छैन । दिनहुँ बढ्दो सवारी चाप र अस्तव्यवस्त ट्राफिक व्यवस्थापनले पैदल यात्रुलाई समेत सास्ती हुन्छ । धम्बोझी चोक नजिकै पैदल यात्रा गरिरहेका जाजरकोटका रामसिंह राना सत्यपाटीसँग भन्छन्, ‘केही बर्ष पहिले सडकमा हिँड्दा सजिलै हुन्थ्यो, अहिले कसैले ठोक्देला भन्ने डर हुन्छ । नेपालगन्जको बजारमा घुम्दा गाडीले पछाडीबाट हान्दिन्छ की भन्ने डर लाग्छ ।’
नेपालगन्जमा दैनिकजसो सयौंको संख्यामा चारपांग्रे गाडी, मोटरसाइकल, ठुला सवारी साधन र साइकलको ओहोरदोहोर चलिरहन्छ । अझ पछिल्लो समयमा सयौंको संख्यामा अटोरिक्साहरु दौडिरहेका छन् । नेपालगन्जको गणेशमान चौक, धम्बोझी चौक, पुष्पलाल चौक, काँरकादो चोक हुँदै राझा चौकसम्मको ट्राफिक व्यवस्थापन निकै फितलो र अस्तव्यस्तपूर्ण रहेको छ । तीव्र गतिमा सवारी साधनहरुको ओहोरदोहोरले सडक यात्रुहरुलाई निकै तनाव हुने गरेको नेपालगन्ज–१८ काँरकादोका स्थानीयबासी पूर्णबहादुर शाही बताउँछन् ।
ट्राफिक व्यवस्थापन कमजोर हुँदा जिल्ला ट्राफिक प्रहरी भने ट्राफिक व्यवस्थापनमा क्रियाशिल देखिँदैन । पछिल्लो समयमा ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा भन्दा राजस्व असुलीमा ध्यान दिइरहेको एक सर्वसाधारण बताउँछन् । ‘बजार समान्यतया भिड हुनु ठिक हो । तर सडक जाम र अस्तव्यस्त ठाउँमा ट्राफिक जिल्ला प्रहरीको ध्यान जाँदैन,’ एक पैदल यात्रुले सत्यपाटीसँग भने, ‘जिल्ला ट्राफिक प्रहरी ट्राफिक व्वस्थापनमा भन्दा राजश्व असुलीमा तल्लीन छ ।’
ट्राफिक प्रहरी विभिन्न कमजोरीको बाहना निकालेर राजश्व असुलीमा केन्द्रीत भएको सर्वसाधारणहरुको आरोप छ । यसले नागरिकलाई त्रसित मात्र होइन आक्रोसित बनाएको छ । विभिन्न स्थानमा जरिवानाका नाममा ट्राफिक प्रहरी परिचालन गर्ने र सामान्यभन्दा सामान्य कुरामा राजश्व असुलीलाई तिव्रता दिइनुले नागरिकहरुमा ट्राफिक प्रहरीप्रति नकारात्मक सोच आएको छ । घण्टौंसम्म बजारमा ट्राफिक जाम हुँदा जिल्ला ट्राफिक प्रहरीको ध्यान गएको देखिँदैन, खजुराका विकास बज्राचार्य बताउँछन् ।
‘विभिन्न कमजोरी देखाई बाध्य बनाएर रकम तिर्न लगाउनु ट्राफिक प्रहरीले राजश्व असुलीलाई प्राथमिकता दिएको पुष्ट्याई गरेको छ । यसरी बिनाकारण ट्राफिक कारबाहीले नागरिकहरुलाई चेतनाभन्दा आक्रोशित तुल्याएको छ । मुस्कानसहितको प्रहरी सेवा होइन, नागरिकसँग बाध्यात्मक र त्रसित बनाउने खालको ट्राफिक प्रहरी सेवा भयो,’ बज्राचार्य भन्छन्, ‘ट्राफिक प्रहरी नागरिकमैत्री होइन राजस्वमैत्री भएको छ । नागरिकको जीउधन भन्दा राजस्वमा ध्यान दिइरहेको छ ।’
प्रहरीले मुस्कान सहितको सेवा दिने भने पनि ट्राफिक प्रहरीलाई भने कुराले छुन सकेको छैन । अधिकांश सवारी चालक तथा सहचालकहरुले आफूलाई ट्राफिक प्रहरीले गर्ने व्यवहार रुखोे, हेपाहा र अपमानजनक हुने गरेको बताएका छन् । सामान्य कागजात माग्दा समेत अपमानजनक भाषा प्रयोग गर्ने, के गल्ती गरेको भन्ने जानकारी नै नदिएर लुटेराको शैलीमा कागजात लैजाने ट्राफिक प्रहरीको व्यवहारले नागरिकहरु आजित भएका छन् । ‘ट्राफिक प्रहरी कहिल्यै मुस्कुराको देखेको छैन । उसको व्यवहार सधैं रुखो र अपमानजनक हुन्छ,’ सत्यपाटीसँग कुरा गर्दै एक यात्रुले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख होमबहादुर थापा ट्राफिक व्यवस्थापन चुस्त रहेको दावी गर्छन् । उनी भन्छन्, ‘धेरै ठाउँमा राखिएको जेब्रा क्रसिङ्गले दुर्घटना बढाएको थियो । त्यसलाई रोक्न हामीले सडक छेउका डिभाइडर उठाएर निश्चित ठाउँमा मात्रै जेब्रा क्रसिङ्ग राखेका छौं, यसले दुर्घटनामा निकै कमी ल्याएको छ ।’ सवारी व्यवस्थापनको लागि पार्किङ्गस्थलको खोजी गरिरहेको उनले बताए । बाँकेमा सरुवा भएर आउने ट्राफिक प्रहरी प्रमूखहरुले सबैले पार्किङ्गस्थलको व्यवस्थापनलाई मुद्दा बनाइरहेका हुन्छन् । तर पार्किङ्गस्थलको व्यवस्थापन भने कहिल्यै गरिँदैन ।
।