सूचनाको शक्ति - The Power Of Information

        

दूधमा आत्मनिर्भर बन्दै आलिताल र परशुराम

डडेल्धुरा । परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । कृषकले उन्नत जातका गाईभैंसी पाल्न थालेपछि परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको हो । कृषकले पछिल्लो समय दूधलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् ।
उत्पादन भएको दूध चिस्यान गरी सदरमुकाम र कैलालीका विभिन्न बजारमा बिक्रीका लागि पठाउने गरिएको छ । व्यावसायिक रुपमा गाईपालन गरी दूध बेचेर पर्याप्त आम्दानी गरिरहेको आलिताल गाउँपालिका कृषक पार्वती मडैले बताए । उनले दैनिक २५ देखि ३० लिटर दूध बिक्री गर्दै आएका छन् । मडैले १२ वटा गाई पाल्नुभएको छ ।
विभिन्न संघ संस्थाले व्यावसायिक रुपमा गाईभैंसी पालनबारे अभिमुखिकरण तालिम दिने गरेका छन् । गाउँमै दुग्ध संकलन केन्द्र र चिस्यान घर सञ्चालनमा आएपछि कृषकलाई सहज भएको आलिताल गाउँपालिका–४ का कमलसिंह ऐडीले बताए । ‘संकलन केन्द्र सञ्चालनमा आएसँगै स्थानीयवासी व्यावसायिक रुपमा गाईपालनतर्फ आकर्षित भएका छन्, उनले भने ।
ऐडीले दैनिक करिब दुई हजार लिटर दूध कैलालीको खप्तड डेरीलाई बिक्री गर्दै आएका छन् । आलिताल गाउँपालिकामा दुईवटा दुग्ध संकलन केन्द्र र चिस्यान घर रहेको छ । परशुराम नगरपालिकाले पनि गाउँगाउँबाट दूध संकलन गरिरहेको छ । पछिल्लो समयमा दूध खपत नहँुदा कृषक निराश भएका छन् ।
उन्नत् जातका जर्सी गाईपालन गरी कृषकले दूध बिक्रीबाट दैनिक रु पाँच सयदेखि रु एक हजार पाँच सय आम्दानी गरिरहेका छन् । आलिताल–३ का कृषक तारादेवी मडै मासिक दूध बिक्रीबाट रु ३० हजारदेखि रु ४० हजारसम्म बचत गर्ने गरेको बताउँछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार ०७:४८