सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशमा पुगेनन् कर्मचारी, कार्य सञ्चालनमा समस्या


रेनुका गिरी । बुटवल । प्रदेश नम्बर पाँचको अस्थायी मुकाम बुटवलमा मन्त्रालयको ब्यवस्थापन भैसक्दा पनि खटाइएका कर्मचारी नपुग्दा समस्या उत्पन्न भएको छ । केन्द्र सरकारबाट प्रदेश सभा र मन्त्रालय सञ्चालनका लागि खटाइएका बिभिन्न तहका कर्मचारी नआइपुग्दा कार्य सञ्चालनमा समस्या उत्पन्न भएको हो ।
प्रदेश तहका बिभिन्न मन्त्रालय सञ्चालनका लागि खटाइएका कर्मचारी उपस्थित नहुँदा मन्त्रालयका कार्यविधि निर्माण लगायतका काम कारबाही प्रभावित भएको मुख्यमन्त्रीको कार्यालयका सचिव दिपेन्द्र काफ्लेको भनाई छ । प्रदेश सरकार अन्तरगतका बिभिन्न ७ वटा मन्त्रालयमा आवश्यक कर्मचारी अभाव भएकाले काम कारबाही सुचारु हुन नसकेको उनको भनाई छ ।
प्रदेशका बिभिन्न मन्त्रालय र प्रदेश सभाका लागि करिब २३५ जना कर्मचारी खटाइएकोमा हालसम्म जम्मा ३० प्रतिशत मात्र उपस्थित भएको सचिव काफ्लेको भनाई छ । सरकारले खटाएको स्थानमा हाजिर नहुने कर्मचारीलाई के गर्ने भन्ने बिषयमा केन्द्रमा कुरा भैरहेको जानकारी गराउँदै सचिव काफ्लेले खटाइएको कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई आवश्यक कारबाही गर्ने चेतावनी समेत दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार ०५:४५