सूचनाको शक्ति - The Power Of Information

        

‘पत्रकार महासंघ बाँकेलाई अब्बल शाखा बनाउँछौं’


बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखा सूचना र प्रविधिमैत्री शाखाका रुपमा अब्बल बन्दै गएको छ । विगतका कार्यसमितिले तयार गरेको कार्ययोजना कार्यान्वयनसँगै अधुरा कामहरु पुरा गर्नका लागि वर्तमान कार्यसमिति क्रियाशिल रुपमा अघि बढिरहेको बताउँछन्, अध्यक्ष ठाकुरसिंह थारु ।
पूर्व अध्यक्ष झलक गैरेको पालामा सुरु गरिएको भवन निर्माणका केही स–साना कार्यहरु पुरा गर्नुका साथै कार्यालय प्रांगणमा माटो पटानको तयारी भइरहेको छ । देशकै पहिलो शाखाका रुपमा स्थापित भएको बाँके शाखालाई उत्कृष्ट शाखाका रुपमा स्थापित गर्न लागिपरेको अध्यक्ष थारुले बताए ।
‘विगतका कार्यसमितिका कार्ययोजनालाई आत्मसाथ गर्दै अघि बढिरहेका छौं,’ उनले भने, ‘हामी एक वर्षको अवधिमा धेरै कामहरु गर्न सफल भएका छौं । आन्तरिक व्यवस्थापनतर्फ कार्यकक्ष व्यवस्थापन, इन्टरनेट जडान गरी वाईफाई जोन, स्थापनादेखि हालसम्मका अभिलेखहरुको व्यवस्थापन लागयतका कामहरु हामीले गरिसकेका छौँ ।’
शाखाले भर्खरैमात्रै टेलिभिजन जडान गरिसकेको बताउँदै उनले भने, ‘हाम्रो क्रियाशिलता देखेर दाताहरु हौसिनु भएको छ । दाताहरुले हामीलाई यो एक वर्षको अवधिमा चार वटा कम्प्युटर, एउटा फ्रिज, दुई वटा भित्ते घडी, पुस्तकालयका लागि विभिन्न पुस्तकहरु, फर्निचर लगायतका सामानहरु सहयोग गरिरहनु भएको छ ।’
यो एक वर्षको अवधिमा वर्तमान नेतृत्वले दुई वटा स्वास्थ्य पत्रकारिता पुरस्कार समेत स्थापना गरेको छ । अध्यक्ष थारुका अनुसार अबको दुई बर्षमा मोफसलका पत्रकारहरुको क्षमता विकास, सञ्चार गृहहरुको आर्थिक समृद्धिका लागि वहस जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७४, आइतवार १०:०४