सुर्खेत । प्रदेश नम्बर ६ को नामाकरण गरिएको छ । आज बसेको चौथो संसद् बैठकले यो प्रदेशको नामाकरण गरेको हो । नेकपा एमलेका संसदीय दलका नेता यामलाल कँडेलले संसदमा प्रदेशको नाम ‘कर्णाली’ राखियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
प्रदेश ६ कर्णालीको विस्तारित क्षेत्रकै रुपमा रहेकाले यसको नाम पनि कर्णाली राख्नु उपयुक्त हुने कँडेलको भनाइ थियो । संसदमा प्रस्ताव ल्याउनुअघि सबै दलसँग छलफल गरिएको कँडेलले जनाए । सबै जनतालाई मान्य हुनेगरी कर्णाली प्रदेश नामाकरण गर्ने प्रस्ताव तयार पारिएको उनले बताए ।
कँडेलको प्रस्तावमाथि समर्थन जनाउँदै कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले प्रदेश ६ को समग्र पहिचान कर्णालीले सम्बोधन गर्ने हुनाले उक्त नाम उपयुक्त भएको जिकिर गरे । यो प्रदेशको ऐतिहासिक पहिचान नै कर्णाली भएकाले पनि राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा चिनाउका लागि कर्णाली नाम राखिनुपर्नेमा उनले जोड दिएका थिए ।
यस्तै, नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाहीले पनि उक्त प्रस्तावमाथि समर्थन जनाउँदै प्रदेशको नाम कर्णाली राख्नुको विकल्प नभएको बताए । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सोशीला शाहीले पनि प्रदेशको नामाकरण सम्बन्धी कँडेलको प्रस्तावमा समर्थन जनाएकी थिइन् ।
प्रदेशको नामाकरण सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिएकी एमाले सांसद कौशिलावली खत्रीले प्रस्तावमाथि आफ्नो धारणा राख्दै कर्णालीको सभ्यता ऐतिहासिक भएको बताइन् । छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद सीताकुमारी नेपालीले कर्णाली विगतमा केन्द्रबाट उपेक्षा र उत्पीडनमा परेको क्षेत्र भएको बताइन् । उनले अब यहाँ उपलब्ध स्रोत र साधनको समुचित उपयोगमार्फत प्रदेशलाई समृद्ध बनाउन सबै लाग्नुपर्ने धारणा राखिन् ।
कांग्रेसका सांसद हिमबहादुर शाहीले अब यो प्रदेशलाई गरिबको नामले सम्बोधन नगर्न आग्रह गरे । उनले निकट भविष्यमा नै प्रदेश समृद्ध बनिसक्ने भन्दै गरिबको पहिचान हटाइने बताए । अर्का सांसद पदमबहादुर रोकायले प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावमा समर्थन जनाउँदै अब प्रदेशको समृद्धिमा केन्द्रित हुनुपर्ने धारणा राखे । नेकपा माओवादी केन्द्रका सांसद कृष्णा शाहले प्रदेशले स्थायी नाम र राजधानी पाइसकेपछि अब यो प्रदेशको भविष्य उज्ज्वल बनाउन सबै मिलेर पहल गर्नुपर्ने धारणा राखिन् ।
मुगुका सांसद दानसिंह परियारले प्रदेशको नामाकरण गरेर कर्णालीलाई सम्बोधन गरिएकोमा खुसी व्यक्त गर्दै अब कर्णालीले बेहोर्नुपरेका सबै समस्या समाधान गर्ने योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नामाकरण सम्बन्धिको प्रस्ताव मतविभाजनमार्फत पारित गरिएको हो । प्रदेशसभाका ३९ सांसद (सभामुख बाहेक) पक्षमा ३७ र विपक्षमा कुनै पनि मत परेन । एक जना सांसद भने बैठकमा उपस्थित भएका छैनन् ।
।