सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा हात्तीपाइलेको औषधि खुवाइँदै


बाँके । हात्तीपाइले रोग निवारणका लागि आठौं पटक बाँकेमा आजदेखि आमऔषधि सेवन कार्यक्रम सञ्चालन भएको छ । बाँकेमा अझै १३ प्रतिशत हात्तीपाइले रोगका विरामी रहेको र बाँके जिल्ला अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ ।
जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काका अनुसार आजदेखि सुरु भएको आम औषधि सेवन अभियान अन्तरगत यस वर्ष ५ लाख ३५ हजार ७९७ जनालाई हात्तिपाइलेको औषधि खुवाउने लक्ष्य राखिएको छ ।
अभियान अन्तरगत २ देखि ५ वर्ष उमेर समुहका ३४ हजार ६८८, ६ देखि १४ वर्ष उमेर समुहका १ लाख १२ हजार ८९० जना र १५ बर्षमाथिका ३ लाख ८८६ हजार २१९ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अभियान सञ्चालनका लागि जिल्लाभर ३४६ जना स्वास्थ्यकर्मी, २ हजार ३०० जना स्वास्थ्य स्वयंसेवक खटाउने भएको छ भने ५ वटा आरआरटी टोली परिचालन गरिनेछ । अभियानका क्रममा विरामी फेला परेमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र भेरी अञ्चल अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाएको जनस्वास्थ्य प्रशासक खड्काले जानकारी दिए ।
उनका अनुसार, जिल्लाभर अभियानका लागि नगरपालिकामा ९९१ बुथ तोकिएको छ । लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको संक्रमण हुने भन्दै जनस्वास्थ्य प्रशासक खड्काले भने, ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले कसैको पनि मृत्यु नहुने बिषयमा ब्यापक प्रचार गर्नु आवश्यक छ ।’ मानिसहरुलाई नडराइ औषधि सेवन गर्न जनस्वास्थ्यले आग्रह गरिरहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले यसअघि २०७४ कात्तिकमा गरेको प्रि–टास सर्भे अनुसार जिल्लामा १३ प्रतिशत हात्तीपाइलेका विरामी रहेका छन् । जुन सर्भेलाई आधार मान्ने हो भने बाँके जिल्ला अझै उच्च जोखिममा देखिएको छ । हात्तीपाइले रोग निवारणका लागि बर्षेनी एक करोडको हाराहारीमा खर्च हुने गर्छ । तर बाँके जिल्ला अझै जोखिममै रहनुले अभियान प्रभावकारी नभएको देखिन्छ ।
२०६७ देखि सुरु गरिएको अभियानको पहिलो वर्ष ९१ प्रतिसतले हात्तिपाइलेको औषधि सेवन गरेकोमा पछिल्ला बर्षहरुमा यो संख्या घटेको जनस्वास्थ्यको तथ्यांक छ । तथ्यांक अनुसार सबैभन्दा कम २०६८ मा ५३ प्रतिशतले मात्रै औषधि सेवन गरेका छन् भने २०६९ मा ६६ प्रतिशत, २०७० मा ७३ प्रतिशत, २०७१ मा ७५ प्रतिशत, २०७२ मा ६७ प्रतिशत र २०७३ मा ७३ प्रतिशतले औषधि सेवन गरेका छन् । जनस्वास्थ्य कार्यालयले यस वर्ष सतप्रतिशतलाई औषधि खुवाउने लक्ष्य राखेको छ ।
जनस्वास्थ्य कार्यालयले दुइबर्ष नपुगेका बालबालिका, गर्भवती, सातदिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्ष भन्दा बढि उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका ५ बर्षमूनिका बालबालिकाहरुलाई औषधि सेवन नगर्न अनुरोध गरेको छ । सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्न विश्वव्यापि अभियान थालिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७४, शनिबार ०५:५५