
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले ‘उत्कृष्ट आयोजना समूह’ को पुरस्कार नेपाल विद्युत् प्राधिकरणलाई प्रदान गरेको छ । छोटो समयमा खरिद प्रक्रिया र विद्युत् वितरण प्रणालीमा सुधार ल्याएको भन्दै पुरस्कृत गरिएको हो ।
प्राधिकरणले एडिबीको सहयोगमा सञ्चालित विद्युत् प्रसारण तथा वितरण दक्षता विस्तार र सासेक (दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग कार्यक्रम) विद्युत् प्रणाली विस्तार आयोजनामा उत्कृष्ट काम गरेको भन्दै शुक्रबार पुरस्कृत गरिएको छ । 
ती आयोजना प्राधिकरणअन्तर्गत आयोजना व्यवस्थापन निर्देशनालयले अघि बढाएको छ । विद्युत् प्रसारण तथा वितरणमा सन् २०१७ मा ४ करोड ८० लाख अमेरिकी डलर खर्च गर्नुपर्ने लक्ष्य निर्धारण गरिएको थियो । निर्देशनालयले लक्ष्यको करिब ८३ प्रतिशत (४ करोड डलर) खर्च गरेको छ ।
यसैगरी, ५ करोड डलरको ठेक्का गर्नुपर्नेमा लक्ष्यको ९५ प्रतिशत (४ करोड ७५ लाख डलर) प्रगति हासिल गरेको छ । उता विद्युत् प्रणाली विस्तारतर्फ समयमै आयोजना तयारी र खरिद प्रक्रिया पूरा गरेको एडिबीले जनाएको छ ।
सन् २०१७ को जनवरीमा ऋण सम्झौता भएकोमा यसै वर्षको अन्तसम्म ५० प्रतिशत ठेक्का आह्वान गरिएको निर्देशनालयका प्रमुख मनोज सिलवालले बताए । ‘ठेक्का आह्वान गरिएको मध्ये ४५ प्रतिशत कामको मूल्यांकन भइरहेको छ,’ उनले भने, ‘समयमै काम गरौं भने पनि नेपालको हकमा त्यो वातावरण अझै बनेको छैन ।’
उत्कृष्ट आयोजना समूहको पुरस्कार पाउनेमा भूकम्पपछिको आपतकालीन सहायता र वातावरण तथा सामाजिक सुरक्षातर्फ सासेक सडक सञ्जाल विस्तार आयोजना पनि परेको छ । यस्तै, उत्कृष्ट आयोजना व्यवस्थापन समूहको पुरस्कार सामुदायिक सिँचाइ, सासेक सडक सञ्जाल र बागमती नदी बेसिन सुधार आयोजनाले पाएका छन् । उत्कृष्ठ काम गर्ने कम्पनीमा कालिका कन्सट्रक्सन र चाइना ग्यान्जाओ–शर्मा जेभी पुरस्कृत भएका छन् ।
।