सूचनाको शक्ति - The Power Of Information

        

भैँसीपालनबाट मासिक ४५ हजार आम्दानी

रुकुम । रुकुम पश्चिमको मुुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गर्न थालेका छन् । नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विसं २०७० देखि भैँसीपालन व्यवसाय शुरु गरेका उनले चार वर्षको अवधिमा रु ३० लाखभन्दा बढी आम्दानी गरिसकेको बताए ।
सदरमुकाम खलंगा बजारमा दूध बिक्री गर्ने उद्देश्यले उनले भैँसीपालन शुरु गरेका थिए । अहिले गौतमले दैनिक ३५ लिटर दूध बजारमा बिक्री गर्दै आएका छन् । भैँसीपालन शुरु गरेपछि पर्याप्त आम्दानी लिन सकिएको उनको भनाइ छ । हाल उनीसँग छ वटा भैँसी र एउटा गाई रहेकामा चार वटा भैँसी र एउटा गाई दुहुना रहेका छन् ।
उनले अहिले बजारमा प्रतिलिटर रु ५० मा दूध बिक्री गर्ने गरेको बताए । चार वर्षअघिसम्म आफैँ रोजगारी खोज्दै हिँड्ने गौतमले अहिले अन्य दुई जनालाई रोजगारी दिएका छन् । ‘पहिले म जागिरकै लागि धेरै भौँतारिएँ, अहिले भैँसीपालनबाट मनग्य आम्दानी भइरहेको छ,’ उनले भने । उनले दूधसँगै कम्पोष्ट मल बिक्री गरेर आम्दानी गरिरहेका छन् ।
गौतम सदरमुकामको पहिलो व्यावसायिक भैँसीपालक तथा दूध उत्पादक हुन् । खलंगा बजारमा दूधको आवश्यकता बढ्दै जाँदा भैँसीपालन उपयुक्त व्यवसाय हुने लागेपछि आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ । बजारमा बढिरहेको दूधको माग परम्परागत रूपमा गरिएको भैँसी तथा गाईपालनबाट पूर्ति हुन सम्भव छैन । यही अवसरलाई छोपेका गौतम आफूलाई युवा उद्यमीका रूपमा स्थापित गर्न सफल भएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ०९:५३