सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका इँट्टा उद्योगमा बालमजदुर धेरै


बाँके । नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालन भैरहेका इँट्टा उद्योगहरुमा बाल मजदुरहरुको प्रयोग बढि भइरहेको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ वडा कार्यालयले गरेको अनुगमनका क्रममा बाल मजदुरको प्रयोग भइरहेको पाइएको हो ।
नेपालगन्ज वडा नं. १३ स्थित अमन इँट्टा उद्योगमा करिव २० जना बालबालिका बालश्रममा लगाइएको पाइएको छ । अनुगमन टोली इँट्टा उद्योगमा पुग्दा भारत घर भएका १२ बर्षका सुग्गी लोनियाले घोडा–बुग्गीमा इँट्टा बोकिरहेको अवस्थामा फेला पारेको थियो ।
लोनियासँग सोधपुछ गर्दा आफु घरपरिवारसँग आएको जानकारी गराए । घरपरिवारले पनि इँट्टा उद्योगमै काम गरिरहेको र आफु पनि इँट्टा ओसारपसारको काम गर्ने गरेको उनले बताए । भारत घर भएका १० बर्षिक इमाजउद्दिन खाँले दाईसँगै इँट्टा बनाइरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
बुवाआमा भारतमै काम गर्ने गरेको तथा दाई र १० बर्षिय बहिनी नेपालको इँट्टा उद्योगमा काम गर्ने गरेको खाँले बताए । कामका सिलसिलामा नेपाल आएका भारतीय नागरिक करिव ६ महिना नेपालमै बसोबास गर्ने गरेको कामदारका ठेकेदार रहमद अलिले बताए । बुग्गी चलाउने र बुग्गीमा हाल्ने उठाउने व्यक्तिलाई मासिक रुपमा फरक फरक ज्याला उपलव्ध गराउने गरेको उनले बताए ।


घरपरिवारसहित जिल्ला वरेली भारतका मकवुल अहमदले आफु र आफ्नो परिवारलाई समेत काममा लगाएको बताए । नेपालमा आएका ६ महिना इँट्टा उद्योेगमा काम गर्ने र ६ महिना भारतमै बस्ने गरेको अमन इँट्टा उद्योगका ठेकेदार रहमद अलिले बताए । भारतीय मजुदरका परिवारसँग श्रम गर्न नेपाल आएका बालबालिकालाई पनि इँटा उद्योगले श्रममा लगाउने गरेको खवर पाएपछि बालबालिकाहरुको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले अनुगमन थालेका छन् ।
नेपालमा इँटा बनाउने मजदुर अभावले उद्योग सञ्चालकले प्रत्येक वर्ष भारतबाट मजदुरका परिवार बोलाउने गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष विरेन्द्रबहादुर शाहले बताए । इँट्टा उद्योगमा बालमजदुरको बढि प्रयोग भैरहेको कारण यसलाई न्यूनीकरण गर्नका लागि आफुले यसलाई रोकथामको पहल गर्ने वडा अध्यक्ष शाहले बताए । बालबालिका प्रयोग भएको उद्योगको विषयमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर अगाडी बढ्ने उनले बताए ।
उदयपुरस्थित रहेको इँट्टा उद्योगमा बाल मजदुर गर्दै आएका बालबालिकाहरुले बधुवा मजदुरहरु जस्तै काम गर्ने गरेको वडा अध्यक्ष शाहले बताए । भारतीय मजदुरका परिवारसँग आएका बालबालिकालाई पनि उद्योग सञ्चालकले श्रमशोषण गर्दै आएको वडा अध्यक्ष शाहले बताए । ‘विद्यालय पढ्ने उमेरका ८ देखि १५ वर्षसम्मका बालबालिका अहिले हिलो माटो समाउन बाध्य भएका छन्,’ उनले भने ।
नगर लगायत बाँकेका प्राय इँटा उद्योग भारतीय मजुदरमै निर्भरमा सञ्चालन रहेका छन् । अभियान कै क्रममा बालबालिकालाई विद्यालय पठाऔं, बालश्रममा नलगाऔं जस्ता विभिन्न खाले जनचेतनामूलक अभियान थालेको १३ नं. वडा कार्यालयले जनाएको छ । नगरका विभिन्न वडा तथा बाल मजदुरहरु भएका स्थानमा अनुगमनलाई तीव्रता वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ०९:०७