सूचनाको शक्ति - The Power Of Information

        

१८६ कर्मचारी बाटैमा गायव भएपछि कामकाज प्रभावित


बुटवल । प्रदेश सरकार सञ्चालनका लागि केन्द्रबाट प्रदेश नं. ५ मा २३५ कर्मचारी खटाइएको छ । तर हालसम्म ४९ कर्मचारी मात्रै सम्बन्धीत कार्यक्षेत्रमा खटिएका छन् । प्रदेश नं. ५ का लागि स्थानीय विकास मन्त्रालयले खटाएका २३५ कर्मचारीमध्ये १८६ कर्मचारी बाटैबाट हराएका छन् ।
प्रदेश सरकारका लागि केन्द्रबाट खटाइएका कर्मचारीहरू बाटैमा गायव भएपछि धेरै कामहरु प्रभावित भएका छन् । केन्द्रबाट खटाइएका कर्मचारीमध्ये हालसम्म ४९ जनामात्रै हाजिर भएका ५ नम्बर प्रदेशको मूख्यमन्त्री कार्यालयले जनाएको छ । सामान्य प्रशासन मन्त्रालयबाट खटाइएका झन्डै ८० प्रतिशत कर्मचारी अझै पनि प्रदेश मुकाम बुटवल पुगेका छैनन् ।
कर्मचारी काममा आइनपुगेपछि प्रदेश सरकार र मन्त्रालयका दैनिक कामकाज प्रभावित हुन पुगेको प्रदेशका मूख्यमन्त्री कार्यालयका प्रमुख सचिव शंकर पाठकले बताए । ‘कर्मचारी नहुँदा नियमित काम र कार्यालयीय व्यवस्थापनमा समस्या भइहेको छ,’ उनले भने । कर्मचारीको अभावमा विदाको दिनमासमेत काम गर्नुपरेको गुनासो उनले गरे । मुख्यमन्त्री कार्यालयमा समेत २९ कर्मचारीको दरबन्दी रहेकोमा अहिलेसम्म १० जना मात्रै हाजिर भएका छन् ।
त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयमा खटाइएका २७ मध्ये ७ कर्मचारी मात्रै हाजिर छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ३८ मा ११ जना र आन्तरिक मामिला तथा कानूनमा २९ मध्ये ५ कर्मचारी मात्रै हाजिर भएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा ३३ कर्मचारी हाजिर हुनुपर्नेमा ५ जना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा खटाइएका ३८ मध्ये ६ कर्मचारीमात्र नियमित काममा आएका छन् ।
त्यस्तै, सामाजिक विकास मन्त्रालयमा ४१ कर्मचारी हुनुपर्नेमा ५ जना मात्र आइपुगेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय ६ तले सेतो भवनमा रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ०८:५२