सूचनाको शक्ति - The Power Of Information

        

चुनाव हारेका ‘बामदेव’ अब ‘कामदेव’ बन्दै


काठमाडौं । वाम गठबन्धनका सूत्राधारका प्रमूख पात्र मानिने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई शक्तिशाली सरकारी निकायको प्रमुख बनाउने तयारी थादिएको छ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले उपाध्यक्ष गौतमलाई ‘विकास आयोजना कार्यान्वयन प्राधिकरण’को प्रमुखमा प्रस्तावित गरेका छन् ।
यो प्राधिकरण प्रधानमन्त्रीको मातहतमा रहेको शक्तिशाली निकाय हुनेछ । यसले नेपालमा निर्माण हुने ठूला आयोजना सञ्चालन गर्नेछ । मलेसियाको मोडेलमा मेगाप्रोजेक्ट सञ्चालन गर्ने गरी ‘विकास आयोजना कार्यान्वयन प्राधिकरण’को अलगै ऐन हुनेछ । अहिले जसरी प्रधानमन्त्री अध्यक्ष रहने गरी ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण’ सञ्चालन भइरहेको छ । त्योभन्दा पनि बढी शक्तिशाली अधिकारसहितको ‘विकास आयोजना कार्यान्वयन प्राधिकरण’ गठन हुनेछ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गौतमलाई कुनै न कुनै महत्वपूर्ण नियुक्ति दिन चाहिरहेका छन् । यसअघि दुईबीच एमाले र माओवादीबीच पार्टी एकता भएपछि प्रचण्ड पार्टी अध्यक्ष र गौतम प्रधानमन्त्री बन्ने सहमति भएको थियो । तर, प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित भएपछि वामदेव सरकारमा सहभागी हुनबाट वञ्चित भएका थिए । सोही कारण अब खर्बाैं रुपैयाँ बजेट भएका र मुलुकका सबै ठूला आयोजना हेर्ने गरी गौतमलाई ‘विकास आयोजना कार्यान्वयन प्राधिकरण’को प्रमुख बनाइन लागिएको हो ।
स्रोतका अनुसार प्राधिकरणसँग एउटा ‘स्पेसल ल्याब’ रहनेछ । जसले ठूलो आयोजनाहरूसँग सम्बन्धित सरोकारवाला, मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरी कसरी आयोजना निर्माण गरी समयमै पूरा गर्ने भन्ने हेर्नेछ । मलेसियामा सरकारी तवरबाट सञ्चालित कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गर्ने शक्तिशाली निकाय ‘पेमाण्डु’जस्तै अधिकार सम्पन्न निकायका रुपमा ‘विकास आयोजना कार्यान्वयन प्राधिकरण’ गठनको अवधारण ल्याएको छ ।
‘पेमाण्डु’ मलेसियाको शक्तिशाली र प्रधान्मन्त्रीको मातहतमा रहेको एकाइ हो, जुन १६ सेप्टेम्बर २००९ मा स्थापना भएको थियो । यसको मुख्य उद्देश्य भनेको कतिको काम भइरहेको छ, साथै त्यस्ता कामलाई समर्थन र सहयोग गर्ने काम गर्छ । ‘पेमाण्डु’ सरकारी कार्यक्रम जिटिपी र अर्थ कार्यक्रम इटिपी गरी मुख्यतया दुईवटा कार्यक्रमलाई नियाल्ने अधिकार सम्पन्न निकाय हो । सोही निकायको अवधारणा अनुसार ‘विकास आयोजना कार्यान्वयन प्राधिकरण’ गठनको अवधारणा ल्याइएको जनाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ०८:३७