सूचनाको शक्ति - The Power Of Information

        

अब अनलाइनबाटै सेयर आवेदन


काठमाडौं । अब साधारण सेयर (आइपीओ), थप निष्कासन (एफपीओ) र हकप्रद सेयर भर्न लाइन लाग्नुपर्ने मात्रै होइन बैंकमा जानुपर्ने अवस्थाको आज शुक्रबारदेखि अन्त्य भएको छ । सीडीएस एण्ड क्लियरिङ हाउस लिमिटेडले केन्द्रीकृत प्रणाली (सीआश्वा) लाई कार्यान्वयनमा ल्याएसँगै अब सेयर आवेदनका लागि लाइन बस्नुपर्ने र बैंकमा धाउनुपर्ने बाध्यता सकिएको हो ।
यद्यपी अनलाईन पहुँच नभएको स्थानका लगानीकर्ताले आफनो पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट अनलाइनविनै सेयर भर्न पाउने छन् । ‘शुक्रबारदेखि सीआश्वा अनिवार्य भएको छ, अब घरमै बसेर आइपीओ, एफपीओ र हकप्रद सेयर भर्न सकिन्छ,’ सिडिएसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवप्रकाश गुप्ताले भने ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का महाप्रवन्धक चन्द्रसिंह साउदले पनि सीआश्वासको अनिवार्य कार्यान्वयनले नेपालको सेयर बजारमा नयाँ युगको आरम्भ भएको बताए । मर्चेण्ट बैंकर्स एसोसियसनका अध्यक्ष ध्रुव तिमल्सिनाले पनि सी आश्वासले सेयर आवेदनका तमाम झण्झट अन्त्य गरेको धारणा राखे । हाल ६० वटा बैंक तथा वित्तिय संस्थाले सीआश्वाको सदस्यता लिएका छन् ।
अब सीआश्वाबाट मात्रै आइपीओ, एफपीओ र हकप्रद सेयर भर्न पाइनेछ । सीआश्वामा दर्ता भएपछि प्राप्त हुने सीआस्वा रजिष्ट्रेशन (सीआरएन) नम्बरका आधारमा सेयर आवेदन दिन सकिने व्यवस्था गरिएको छ । शुक्रबारबाट पूर्ण कार्यान्वयनमा आउने सीआश्वा प्रणालीले अनलाइनका माध्यमबाट देशका जुन सुकै कुनाबाट पनि आइपीओ, एफपीओ र हकप्रद सेयर भर्न पाइनेछ ।
सीडीएसले सीआस्वालाई अनिवार्य गरेपछि बैंक तथा वित्तीय संस्थाले सूचना प्रकाशित गरी सीआस्वामार्फत सेयरको आवेदन दिन सीआरएन नम्बर लिन बोलाएका छन् । बैंकले खाता खोल्न, हितग्राही खाता (डीम्याट एकाउन्ट) र सीआरएन नम्बर लिन भनेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ०५:२०