सूचनाको शक्ति - The Power Of Information

        

तिलोत्तमाले प्रदेश सरकारलाई बुझायो स्थानीय कानुन


रेनुका गिरी । बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय कानुन प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि तिलोत्तमा राजपत्रमा प्रकाशित भएपछि नगरपालिकाले त्यसको जानकारी प्रदेश सरकारलाई गराएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १०२ को उपदफा ४ मा गाउँपालिका वा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा बनाएका ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड प्रदेश सरकार र नेपाल सरकारलाई पठाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार नगरपालिकाको एक टोलीले बिहीबार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई स्थानीय कानुनको एक प्रति हस्तान्तरण गरेको हो ।
स्थानीय कानुनको संगालो बुझाउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका सदस्य तथा प्रवक्ता सुरेन्द्र श्री, कानुनी सल्लाहकार तथा कानुन मस्यौदा समितिका संयोजक अधिवक्ता खुमकान्त पौडेल, प्रेस सल्लाहकार बीपी गौतमको टोली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवल पुगेको थियो । स्थानीय कानुन हस्तान्तरणका अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेश नं. ५ मैं तिलोत्तमाले यसरी स्थानीय कानुन राजपत्रमा प्रकाशित गरेर प्रदेश सरकारलाई बुझाएकोमा प्रशंसा व्यक्त गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ०४:५१