सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ६ को सुरक्षा योजना : ‘डिजिटल प्रदेश’ देखि पर्यटन प्रहरीसम्म


विनोद शाही । सुर्खेत । प्रदेश नं ६ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरक्षा योजना बनाउन सुरु गरेको छ । मन्त्रालयले डिजिटल प्रदेश बनाउनेदेखि पर्यटन प्रहरी खटाउनेसम्मका योजना अघि सारेको हो । मन्त्रालयले तीन वटा कार्यदल बनाएर काम सुरु गरिसकेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए ।
उनले प्रदेशको सुरक्षाका लागि सबै पक्षको सुझाव र सल्लाहका आधारमा कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याइने पनि जनाए । छिमेकी प्रदेशसँग समेत समन्वय गरेर प्रदेश नं ६ का हरेक नागरिकलाई सुरक्षित बनाउन आफूहरु लागिपरेको उनको भनाइ छ । मन्त्रालयले आवश्यक कानुन निर्माणका लागि पनि कार्यदल बनाएर काम सुरु गरिसकेको छ ।

‘डिजिटल प्रदेश’ योजना
अपराध नियन्त्रण र शान्ति सुरक्षालाई विश्वसनीय बनाउन डिजिटल प्रदेश बनाउने योजना अघि सारिएको मन्त्रालयले जनाएको छ । योजना अनुसार आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै प्रदेशको शान्ति सुरक्षा सम्बन्धी सबै जानकारी सफ्टवेयरमा राखिने छ ।
‘अब हरेक व्यक्तिको लाइसेन्स र ब्लुबुकको विवरणदेखि चारित्रिक अवस्थासमेत विशेष सफ्टवेयरमा राखिनेछ, जसले कुनै कुनै पनि अनुसन्धानलाई प्रभावकारी र छरितो बनाउन सघाउ पुग्नेछ,’ प्रदेश ६ का अतिरिक्त प्रहरी महानिरीक्षक सुरेन्द्रविक्रम शाहले भने । हरेक जिल्लाका सदरमुकाममा सिसी क्यामेरा जडान गर्ने योजना पनि यसै अन्तर्गत रहेको जनाइएको छ ।

‘समृद्धिका लागि शान्ति सुरक्षा’ कार्यक्रम
मन्त्रिपरिषद् बैठकले गरेको ‘समृद्धिका लागि शान्ति सुरक्षा’ योजना कार्यान्वयन गर्नका लागि अतिरिक्त प्रहरी महानिरीक्षक सुरेन्द्रविक्रम शाहको संयोजकत्वमा कार्यदल बनाइएको छ । उक्त कार्यदलले शान्ति सुरक्षाको विस्तृत योजना बनाएर यही फागुन १९ गते औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।
यो योजना अन्तर्गत प्रहरी जनशक्ति थप गर्ने पनि मन्त्रालयको तयारी छ । हाल ५ हजार ९० जना प्रहरी कार्यरत रहेको प्रदेशमा ५ हजार ४ सय जनशक्ति थप गरी १० हजार ५ सय र्पुयाइने कार्यदलका संयोजक शाहले जनाए । त्यसैगरी प्रदेशका सबै जिल्ला सदरमुकाममा सिसी क्यामेरा जडान गरिने योजना यसमा समावेश गरिएको छ ।
लागऔषध नियन्त्रणका लागि अभियान चलाउने र दुर्व्यसनमा फसेकाहरुलाई सुधारका लागि सरकारी स्वामित्वका प्रदेशस्तरीय सुधार केन्द्र निर्माण गर्ने, सडक बालबालिका र बालश्रमिकका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, विपद जोखिम क्षेत्रहरुमा साइरन जडान गर्ने लगायतका ४० बुँदे कार्ययोजना समृद्धिका लागि शान्ति सुरक्षा कार्यक्रममा समावेश गरिएको छ ।

‘पर्यटन प्रहरी’ परिचालन
शान्ति सुरक्षालाई मजबुत बनाउन प्रदेशमा पर्यटन प्रहरी परिचालन गरिने भएको छ । प्रदेशका सबै विमानस्थल, बसपार्क र प्रमुख पर्यटकीय स्थलहरुमा ‘पर्यटन प्रहरी’ राखिने योजना रहेको उनले जानकारी दिए । अबको १५ दिनभित्रै प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलहरुमा पर्यटन प्रहरी राखिसकिने जनाइएको छ । ती प्रहरीले पर्यटकहरुलाई पर्यटकीय स्थलको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिनेछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार ११:०२