देवी भण्डारी । दाङ । आर्थिक समृद्धि विना देश समृद्ध बन्न नसक्ने भएकाले आर्थिक समृद्धिका लागि नागरिकमा सोच परिवर्तनसँगै सपना आवश्यक रहेको बताइएको छ । दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रर्दशनी २०७४ को आठौ दिन आर्थिक विकासमा नागरिकको भूमिका विषयक विचार गोष्ठीका सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रेस काउन्सलिका पूर्व अध्यक्ष नारायाण प्रसाद शर्माले हरेक नागरिक आफैं मालिक भएको बताउँदै आफुमा भएको शक्ति र स्रोतको परिचालन गर्नसके आर्थिक समृद्धि टाढा नरहेको बताए । विषय विज्ञका रुपमा बोल्दै सामाजिक विज्ञ विश्व वन महासंघका पूर्व अध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आर्थिक समृद्धि विना देश समृद्ध बन्न नसक्ने बताए ।
उनले आर्थिक समृद्धिका लागी नागरिकमा सोच परिवर्तनसँगै सपना आवश्यक रहेको बताए । पाण्डेले नागरिकमा परम्परागत सोच, परम्परागत कृषि प्रणाली र आनीवानीमा परिवर्तन नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउँदै मानसिक सोंचमा बदलाव जरुरी रहेको बताए । किसानहरु आफुले उत्पादन गरेको बस्तुको मालिक आफै बन्न नसक्नु हाम्रो बिडम्वना भएको बताउँदै किसानलाई उत्पादनको मालिक बन्नसक्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको बताए ।
नेकपा माओवादी केन्द्र दाङका सह–इन्चार्ज निर्मल आचार्यले मुलुक संघीयतामा गएसँगै अब नागरिक विकास माग्ने दाउमा नभई विकास गर्ने टाउमा रहेकाले आफ्नो भूमिकाको खोजी गर्दै आर्थिक समृद्धिको बाटोमा नागरिकहरु लाग्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए । आचार्यले नागरिकहरु विकासका हिमायती भएको बताउँदै नागरिकहरुमा गुनासो गर्ने ठाउँ नरहेको बताउँदै देशमा अझैपनि शासन गर्ने व्यक्ति र नेतृत्व गर्ने पंक्तिमा कमजोरी देखिएको बताए ।
पाण्डेले राजनीतिक लडाइँका लागि विगतमा भएका मोर्चावन्दीहरु अब आर्थिक विकासतिर लाग्नु आवश्यक रहेको बताए । उनले उद्यमशीलताका लागि जागरण पैदा गर्दै लाखौं मानिसलाई उद्यमशीलतासँग जोड्न सके मुलुकलाई आर्थिकरुपले समृद्ध बनाउन सकिने बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुलआयोजक समितिका संयोजक नारायणप्रसाद भुसालले हरेक उत्पादनमा आत्मनिर्भर भएको बताउँदै दाङ अब आर्थिक समृद्धिको जिल्ला बन्ने बताए ।
यसैगरी नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्तले आर्थिक समृद्धि विना मुलुक समृद्ध बन्न नसक्ने भन्दै मुलुकमा कृषि, पर्यटन, उद्योग, लघुउद्यम व्यापार र उत्पादनको प्रवद्र्धन तथा उचित बजारीकरण गर्नसके मुलुकलाई समृद्ध बनाउन सकिनेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले, राजनैतिक परिवर्तनसँगै अब देश संघियताको नयाँ मोडेलमा प्रवेश गरेको बताउँदै अब मुलुकले आर्थिक समृद्धि खोजी रहेको बताए ।
दाङ एशीयाकै ठुलो उपत्यका रहेको वताउदै संयोजक भुसालले दाङ पानी, सिमेन्ट, जुस, इँटा अल्लो व्यवसाय, कुखुरा, अण्डा, दाना लगायतका उत्पालनमा आत्मनिभर रहेको बताउँदै अब उद्योग व्यापार, लघुउद्यम, तरकारी, कृषि उत्पादनमा समेत आत्मनिर्भर जिल्लाको रुपमा अगाडि बढेको बताए । कार्यक्रममा साहित्यिक उपसमितिका संयोजक मायाकुमारी पोख्रेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सहजीकरण साहित्यकार पदमप्रसाद शर्मा र साहित्यिक उपसमितिका सदस्य सचिव शरद अधिकारीले सहजीकरण गरेका थिए ।
।