सूचनाको शक्ति - The Power Of Information

        

१६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै प्राइम लाइफ


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई १६० प्रतिशत हकप्रद सेयर दिने भएको छ । उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री फागुन २७ गतेदेखि खुला हुँदैछ । कम्पनीले १ सय रुपैयाँ दरका ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १७ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । त्यसैले कम्पनीको १६० प्रतिशत हकप्रदमा फागुन १६ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस प्रदान गरेको छ । जसले कम्पनीका आधारहरु औसतभन्दा तल रहेको जनाउँछ ।
हकप्रद सेयरमा फागुन २७ गतेदेखि २०७५ बैशाख २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । प्राइम लाइफ इन्स्योरेन्सको हकप्रदमा सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल, प्राइम लाइफ इन्स्योरेन्सको केन्द्रीय तथा शाखा कार्यालयहरु, आस्वा अनुमतिप्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार ०७:०६