सूचनाको शक्ति - The Power Of Information

        

तीन सन्तानले बालविवाह गरेर हिँडेपछि सुनार परिवारमा निराशा

अशक्त बुवालाई सघाउन डोकोभरी खुकुरी बोकेर सदरमुकाम आइपुगेका नौ वर्षिय बालक विशाल सुनार बिक्रीका लागि ग्राहकलाई खुकुरी देखाउँदै । बिरामी बुवा साकुरे सुनारका सहारा बनेका बालक कक्षा तीनमा अध्ययनरत छन् । तस्वीर : कविता उपाध्याय/रोल्पा

अशक्त बुवालाई सघाउन डोकोभरी खुकुरी बोकेर सदरमुकाम आइपुगेका नौ वर्षिय बालक विशाल सुनार बिक्रीका लागि ग्राहकलाई खुकुरी देखाउँदै । बिरामी बुवा साकुरे सुनारका सहारा बनेका बालक कक्षा तीनमा अध्ययनरत छन् । तस्वीर : कविता उपाध्याय/रोल्पा


कविता उपाध्याय । लिवाङ्ग (रोल्पा) । साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार वर्षाैंदेखि आरनमा काम गर्छन् । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी परेका छन् । टाउको दुःख्ने, छाती दुःख्ने, ज्वरो आउने, श्वास बढ्ने समस्या बढेपछि उनलाई पेशा सम्हाल्नै हम्मे हम्मे परेको छ । गाउँकै स्वास्थ्य संस्थामा उपचार गर्दा उनको स्वास्थ्यमा सुधार आएको छैन । चिकित्सकले क्षयरोग लागेको हुनसक्ने भनेपछि उनी थप चिन्तित बनेका छन् ।
यसरी बिरामी परेका सुनारको स्वास्थ्यमा समस्या बढेसँगै पेशा नै रोकिने हो कि भन्ने चिन्ताले उनलाई पिरोल्न थालेको छ । ‘कोइला पोल्न जानुपर्छ, फलाम चाहिन्छ । खुकरी बनाउने पेशा सजिलो छैन । तर रोजीरोटीका लागि यही पेशा नगरी सुख छैन,’ उनले भने । सुनारका क्रमशः २२ वर्ष, १९ वर्ष, १६ वर्ष, ११, वर्ष, ९ वर्ष र ८ वर्षका गरी ६ सन्तान छन् जसमध्ये माथिका दुई छोरी र एक छोराले १४/१५ वर्षकै उमेरमा प्रेम विवाह गरेर हिँडिसकेका छन् भने दुई छोरी १५/१६ वर्षकै उमेरमा आमा बनिसकेका छन् ।
आफूले सानैमा आमाबाबुको मृत्यु भएका कारण पढ्न नपाए पनि छोराछोरीलाई ऋण काडेरै भए पनि पढाउने उनको तीव्र चाहना थियो । तर छोराछोरी बिहे गर्दै जाँदै गर्नुले उनको सपना साकार हुन सकिरहेको छैन । जिल्लामा बालविवाह अन्त्यका लागि अभियान चले पनि यस्ले कुनै असर नपारेको उनको गुनासो छ । हाल घरमा भएका सन्तानले पनि यसैगरी पढाइ छोडेर बिहे गर्लान् कि भन्ने चिन्ताले उनलाई दिनरात पिरोल्न थालेको छ । ‘यिनै छोराछोरी पढाएर आँखा देखाउन पाए बूढेसकालमा सहारा बन्लान् भन्ने लागेको तर फटाफट पोइल हिँडेर सकिन लागे,’ उनले दिक्क मान्दै भने ।
जेठो छोरो पनि १६ वर्षकै उमेरमा विवाह गरेर इँट्टाभट्टा छिरेपछि उनमा थप निराशा बढ्न थालेको छ । घरमा भएका छोराछोरी साना छन् । पखेटा उम्रेका चरीले गुँड छोडेर हिँडेपछि उनलाई आफ्नोभन्दा सन्तानको भविष्यको चिन्ताले सताउने गर्छ । यता घरखर्च, उता उपचार खर्च जुटाउनुपर्ने भएपछि बिरामी परेका साकुरेले बुधबार ९ वर्षीय छोरा विशाल सुनारलाई डोकोभरि खुकुरी बोकाएर सदरमुकाम आइपुगेका थिए । विशाल हाल गाउँकै विद्यालयमा कक्षा ३ मा अध्ययन गर्छन् । ६ जना सन्तानमध्ये उनी बीचका हुन् । साकुरे अशक्त भएपछि ९ वर्षीय विशाल हाल उनका बुबाको सहारा बनेका छन् ।
किताब कापीको झोला थमाउन मुस्किल पर्ने विशालको सानो पिठ्यूँमा १५ वटा खुकुरीले भरिएको डोको थियो । चरचरी फुटेका हात, उस्तै धुलाम्य खुट्टा, पैतालामा च्यातिएको चप्पलको भरमा उनी बाबुको साथमा सदरमुकाम पुगेका हुन् । ‘घरमा नून–तेल सकिएको छ । आफूलाई उपचार गर्ने पैसा पनि छैन, त्यसैले छोरालाई खुकुरी बोकाएर यता आएको हुँ,’ उनले भने । आफूले नसकेको बेला ग्राहकले रु पाँच हजारको खुकुरी तीन हजारमा र तीन हजारको खुकुरी रु एक हजार ५०० देखि दुई हजारमा उठाएपछि यो महिना धान्न गाह्रो हुने भन्दै उनले दुखेसो पोखे ।
‘गरिबी तथा बेरोजगारीका कारण जिल्लामा विशाल जस्तै धेरै बालबालिका रोजीरोटीका लागि ठूलो श्रम गर्न बाध्य छन् । बालअधिकारका चर्का नारा बोक्नेको यसतर्फ समयमै ध्यान जान जरुरी देखिन्छ,’ रोल्पा नगरपालिकाकी सरस्वती रिजालले भनिन् । यस्तै, बालविवाह न्यूनीकरणका लागि अभियान थाल्नेहरुले सम्बन्धित ठाउँमा पुगेर चेतना अभिवृद्धि गर्नुपर्नेमा अधिकारकर्मीको जोड छ । गरिबी, बेरोजगारी, अशिक्षा तथा चेतना अभावका कारण बढ्दै गएको बालविवाह न्यूनीकरणका लागि व्यावहारिक रुपमा सबै सक्रिय बन्नुपर्ने स्थानीयवासी अनन्ता आचार्यको सुझाव छ । रासस

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार ०५:४५