सूचनाको शक्ति - The Power Of Information

        

डुडुवा गाउँपालिकाद्वारा शिक्षा र सहकारी विधेयक पारित

बाँके । बाँके जिल्लाको डुडुवा गाउँपालिकाले दुईवटा विधेयक पास गरेको छ भने आर्थिक ऐन, २०७४ लाई संशोधन गरेको छ । गाउँपालिकाको बुधबार बसेको विशेष गाउँसभाले शिक्षा विधेयक र सहकारी विधेयक ऐन, २०७४ पारित गरेको हो ।
गाउँपालिकाको शिक्षा र सहकारीसम्बन्धी व्यवस्थापन, नियमन तथा अनुगमन, दर्तासम्बन्धी व्यवस्था गर्न शिक्षा र सहकारी विधेयक पारित गरिएको गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार गाउँपालिकाको आर्थिक ऐन, २०७४ को प्रथम संशोधन गरिएको छ ।
आर्थिक ऐनमा सहकारी दर्ता दस्तुर, एफएम रेडियो दर्ता, कृषि फारम दर्ता, निजी स्वास्थ्य संस्था दर्ता, राजपत्र एवं कानूनको बिक्री दस्तुर शुल्क निर्धारण गर्नुपर्ने भएकाले संशोधन गरिएको गाउँपालिकाले जनाएको छ ।
बुधबार साँझ अबेर सम्पन्न बैठकमा ३ नं वडाका वडाध्यक्ष भण्डारीलाल यादव, वडा नं ६ का अध्यक्ष मोहनराम मिश्र र वडासदस्य रिथराम कुर्मीले संशोधन प्रस्ताव दर्ता गराएका थिए । तीनैजनाले दर्ता गराएको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
सभामा विधेयक समितिका संयोजक लीलावती यादवले तीनवटै विधेयक प्रस्तुत गरेका थिए । गाउँपालिकाले यसअघि बसेको प्रथम र आज बसेको विशेष गाउँसभाले अहिलेसम्म आर्थिक ऐन, विनियोजन विधेयक ऐन, आर्थिक कार्यविधि ऐन, शिक्षा ऐन र सहकारी ऐन गरी पाँचवटा विधेयक ऐन पारित गरी कार्यान्वयनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले बताए ।
गाउँपालिकाको ऐन पारित भएपछि कार्य गर्न सहज हुने वडासचिव ऋषिराज गौतमले बताए । गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको गाउँसभाको बैठकको सञ्चालन प्रमुुख प्रशासकीय अधिकृत पौडेलले गरेका थिए । सभाको बैठक केन्द्रको संसद्अनुसार नै व्यवस्थित रुपमा सञ्चालन गरिएको थियो । –स्वस्तिक भट्ट/प्रशिक्षार्थी पत्रकार

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार ०४:४५