सूचनाको शक्ति - The Power Of Information

        

हात्तीपाइले रोगको संक्रमण दर घटेन, शिक्षितले नै खाँदैनन् औषधि


देवी भण्डारी । दाङ । दाङमा हात्तीपाइले रोगको संक्रमण दर नघटेको पाइएको छ । दाङको कुल जनसंख्याको ६ प्रतिशत अर्थात् करिब ६ हजार नागरिकमा हात्तीपाइलेको संक्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका मलेरिया निरीक्षक कमल चन्दले जानकारी दिएका छन् ।
हात्तीपाइले रोगको संक्रमण दर नघटेपछि आम औषधि सेवन अभियान दुई बर्ष थप गरिएको मलेरिया निरीक्षक चन्दले जानकारी दिए । ६ बर्षसम्म नियमित औषधि खुवाउने कार्यक्रमले संक्रमणको दर नघटेपछि फेरी दुई बर्ष थप गरिएको र यो आठौँ बर्षको अभियान भएको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ ।
दाङमा बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको छ । ‘बुझ्ने र पढेलेखेका मानिसहरु हात्तीपाइलेविरुद्ध औषधि खानुहुन्न, शहर बजारमा यसको सेवन गर्नेको संख्या निकै कम छ,’ जिल्ला जनस्वास्थ्य अधिकृत प्रकाशकुमार योगीले भने । जनस्वास्थ्य निरीक्षक ओमप्रसाद न्यौपानेका अनुसार जो गरिब छ उसले रोग लागेमा औषधि गर्नुपर्छ भनेर औषधि खाने गरेका र अन्य जान्नेबुझ्नेले औषधि नखाइदिने समस्या रहेको छ ।
विशेषगरी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हात्तीपाइलेबाट बच्न औषधि खानुपर्ने भए पनि विभिन्न कारण र मनोडरका कारण औषधि सेवन नगर्ने गरेको बताइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले (फाइलोरिया) रोग निवारण कार्यक्रमअन्तर्गत बर्षेनि नेपाल सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने गरेको छ । तर नबुझ्ने र रोगको डरबाट बच्नको लागि गाउँघरका व्यक्तिले औषधि सेवन गरे पनि धेरैजसो बुझ्ने मानिसले भने यसलाई बेवास्ता गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
दाङमा १३ प्रतिशतमा हात्तीपाइलेको लक्षण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । एकबर्ष पहिले दाङका साविक रामपुर, सिसहनिया र टरिगाउँमा गरिएको परिक्षणमा ८० जनामा हात्तीपाइलेको संक्रमण भेटिएको थियो । सरकारले दाङमा हात्तीपाईले रोगको संक्रमण दर २ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । गत वर्ष दाङमा ५५ प्रतिशतले मात्र औषधि सेवन गरेको बताइएको छ । राज्यले यसको सचेतनाका लागि अर्बांै रकम खर्च गरे पनि सो खर्च बालुवामा पानी हालेझँै भएको छ ।
हात्तीपाइले औषधि सेवनपछि केही सामान्य असरका लक्षण देखिए पनि चिकित्सकले त्यसबाट नआत्तिन आग्रह गरेका छन् । गर्भवती, दुई वर्ष नपुगेका केटाकेटी, सिकिस्त बिरामी, क्यान्सर, मुटु रोगी, कलेजो रोगी, मिर्गौला, फोक्सोको दीर्घरोगी तथा छारे रोगका बिरामीले औषधि सेवन गर्न नहुने र अन्य सबैले यो औषधि सेवन गर्नुपर्ने चिकित्सकको भनाइ छ । दाङमा यही फागुन १२, १३ र १४ गते सञ्चालन हुन लागेको हात्तीपाइले रोग निवारण विरुद्धको कार्यक्रमअन्तर्गत औषधि खुवाउने कार्यक्रम रहेको छ । त्यसलाई सफल पार्न विभिन्न क्षेत्रका व्यक्ति र सरोकारवालालाई जानकारी गराउन शुरु गरिएको छ । तर औषधि भने जिल्लामा नआएको बताइएको छ ।
यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार हात्तीपाइले रोगका कारण पनि हाइड्रोसियल हुने भएकाले अहिले राप्ती उपक्षेत्रिय अस्पताल र राप्ती अञ्चल अस्पतालमा निशुल्क रुपमा हाइड्रोसिलको शल्यक्रिया गरिने छ । शरिरमा हात्तीपाइले रोगको जिवाणु रहेका ब्यक्तिले औषधि सेवन गरेपश्चात सामान्य केहि लक्षणहरु देखीने हुँदा नआत्तिन पनि जनस्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार ०४:३५