सूचनाको शक्ति - The Power Of Information

        

खेतबारीमै किसान पाठशाला

रुकुम । जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषिउपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन हँुदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले ‘कृषक पाठशाला’मार्फत खेतबारीमा सिक्दै उत्पादन गर्न सुरु गरेका छन् ।
परम्परागत र आधुनिक कृषि उत्पादनका विषयमा प्रत्यक्ष काम गर्दै सिक्दैआएका यहाँका कृषक अहिले खेतबारीमै कृषक पाठशाला सञ्चालन गरी सिक्दै उत्पादन गर्न थालेका छन् । जिल्लामा लागू भएको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत साविकका १४ वटा गाविसका कृषकले परम्परागत र आधुनिक कृषि उत्पादनबारे सिकाइ गर्न थालेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेश साहले जानकारी दिए ।
कृषक पाठशालामार्फत उन्नत प्रविधिमा व्यावसायिक कृषि खेतीतर्फ अग्रसर गराउने उद्देश्यका साथ पाठशाला सञ्चालन गरिएको उनको भनाइ छ । कृषक समूह गठन गरी पाठशालामा सहभागी गराउने र पाठशालामार्फत सिकाउने गरिएको छ । जिल्ला भरमा यस वर्ष ३० ठाउँमा पाठशाला सञ्चालन गरिएको छ भने ५०० भन्दा बढी किसानले उन्नत कृषि प्रविधिका बारेमा खेतबारीमै जानाकरी पाएको उनले बताए ।
कृषकलाई खेतमै पुगेर सिकाउने हुँदा पाठशाला प्रभावकारी रहेको सिम्लीका कृषक रामबहादुर खड्काले बताए । ‘पाठशाला सञ्चालन नहुँदा कृषि प्राविधिकलाई देख्नसमेत पाइँदैनथ्यो,’ उनले भने । अहिले प्राविधिकले खेतबारीमै कृषकलाई पढाउँदै आएका छन् । पाठशालामा सिकेको सीप र ज्ञानको प्रयोग गर्दा अहिले उत्पादनमा वृद्धि भएको कृषकले बताएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार ०८:४८