काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रलाई ६ मन्त्रालय दिने तयारी गरिएको छ । पार्टी एकता र सरकारको भागबण्डालाई प्याकेजमै सहमति गरेका वाम गठबन्धनले करिब १५ वटा मन्त्रालय समावेश गर्दै सरकार चलाउने तयारी गरेको छ ।
एमाले स्रोतका अनुसार नयाँ सरकारमा माओवादीलाई गृहसहित ६ मन्त्रालय दिने तयारी गरिएको छ । माओवादीले गृहसहित भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका केही ठूला मन्त्रालयमा दाबी गरेको छ । मन्त्रालय भागबण्डाको विषयमा प्रमुख दुई नेताले आन्तरिक छलफल गरे पनि अन्तिम निर्णय हुन बाँकी छ । सरकारको नेतृत्व गरिरहेको एमालेले अर्थ सहितका मन्त्रालय आफूसँग राख्नेछ ।
वाम गठबन्धनले मधेसकेन्द्रित दललाई समेत सरकारमा ल्याउनेगरी छलफल थालेका थिए । तर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको ग्यारेन्टी नभएसम्म नयाँ सरकारमा जान नसकिने बताएपछि तत्काल मधेसकेन्द्रित दल सरकारमा आउने सम्भावना कम रहेको छ । वाम गठबन्धनले आजै सरकार विस्तारको तयारी गरेको छ । माओवादीबाट केही मन्त्रीले आजै सपथ लिने सम्भावना रहेको माओवादीका एक नेताले बताए ।
।