सूचनाको शक्ति - The Power Of Information

        

ब्रिटिसमा स्वास्थ्य शिविर, ३८१ जनाको स्वास्थ्य जाँच


बाँके । सरकारी तथा नीजि क्षेत्रद्वारा सञ्चालित मेडिकल कलेज, ठुला अस्पताल र स्वास्थ्य केन्द्रहरुको सेवा उपलब्ध भइरहेको नेपालगन्ज नगरभित्र पनि विभिन्न सामाजिक संघ संस्थाहरुबाट आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरमा विरामी अर्थात् सेवाग्राहीहरुको बढ्दो चाप देख्दा सर्वसाधारण नागरिक सहज स्वास्थ्य सेवाबाट अझै पनि वञ्चित भइरहेका बेला विभिन्न संघसंस्थाहरुले स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा दिइरहेका छन् ।


नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्रै पनि कतिपय नागरिकहरु स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका बेला स्वास्थ्य शिविरले उनीहरुलाई केही राहत दिएको छ । स्वास्थ्य शिविरहरुमा सर्वसाधारण नागरिक लामो लाममा घण्टौं उभिएर पनि सेवा लिन लालायित देखिन्छन् । ठुला ठुला सरकारी तथा नीजि क्षेत्रका अस्पताल, स्वास्थ्य केन्द्रहरुले स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन् । तर पनि कतिपय नागरिकहरु स्वास्थ्य सेवाको पहुँचमा आउन सकिरहेका छैनन् ।
‘निःशुल्क स्वास्थ्य शिविरमा सर्वसाधारणको घुइँचो लागेको देखिन्छ । यस्ता शिविरले स्वास्थ्य सेवाको पहुँचमा नरहेका कतिपय नागरिकले घरदैलोमै स्वास्थ्य सम्बन्धी चेकजाँजहरु गर्न पाउँदा अत्यन्तै खुखी देखिन्छन्,’ देख्दा उनीहरु स्वास्थ्य सेवाको पहुँचबाट अझै पनि टाढा छन् भन्ने प्रष्ट हुन्छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ मा पर्ने शान्तिनगरमा रहेको व्रिटिस ईग्लिस बोर्डिङ हाइस्कुलमा सोमबार सञ्चालित आयोजित शिविरमा स्थानीय नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।


व्रिटिस ईग्लिस बोर्डिङ हाइस्कुलका प्रिन्सिपल हेमन्तराज काफ्लेका अनुसार स्वास्थ्य सेवाको पहुँचमा नपुगेका आम नागरिकले निशुल्क स्वास्थ्य सेवा पाएका छन् । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेको आयोजनामा भएको शिविरमा ३८१ जना सर्वसाधारणले चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि समेत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सञ्चालन गरिएको शिविरबाट २४० जना महिला र १४१ जना पुरुष सर्वसाधारण तथा विद्यालयका अभिभावक तथा विद्यार्थीहरु लाभान्वित भएका थिए ।
केन्द्रकी अध्यक्ष लता शर्माका शिविरमा सबैभन्दा कम उमेर ३ महिनाको बालिकादेखि ९० वर्षिया वृद्धाले स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि प्राप्त गरेका थिए । शिविरमा विद्यालयका विद्यार्थी र अभिभावकहरुको सहभागितामा नसर्ने रोग, जङ्ग फुड र यसबाट पर्ने स्वास्थ्य समस्या विषयगत सचेतना गोष्ठीको आयोजना पनि गरिएको थियो । गोष्ठीमा भेरी अञ्चल अस्पतालका मुटु रोग तथा मधुमेह राग विशेषज्ञ डा. विपिन आचार्यले सहजीकरण गरेका थिए ।


शिविरमा आफूले पाएको स्वास्थ्य सेवाका बारेमा प्रचारप्रसार गर्न आग्रह गर्दै केन्द्रकी अध्यक्ष लता शर्माले आफूले सिकेको कुरा घर परिवार र गाउँघरमा सचेतना फैलाउन सहभागीहरुलाई आग्रह गरिन् । अध्यक्ष शर्माले स्वस्थ रहनका लागि स्वस्थ र दीर्घ जीवनशैलीमा जिउनका लागि आफैंले अवलम्वन गर्न सकिने उपाय थाहा पाउन सके अस्पताल, स्वास्थ्य केन्द्र र चिकित्सक कहाँ धाउन र औषधि सेवन गर्न नपर्ने बताइन् ।
स्वस्थ र दीर्घ जीवन जिउनका लागि हामी आफै सचेत हुनुपर्ने विचार उनले व्यक्त गरिन् । सो विद्यालयका प्रधानाध्यापक काफ्ले र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरज शाहले केन्द्रद्वारा पहिलो पटक आफ्नो विद्यालयमा आयोजित यस किसिमको स्वास्थ्य सचेतना गोष्ठी र निःशुल्क स्वास्थ्य शिविरबाट आफ्नो विद्यालयका बालबालिका, अभिभावक र यस भेगका सर्वसाधारण लाभान्वित भएको बताए ।


शिविरमा सुर्जी गाउँ, मन्नीपुर, कारकाँदो, लग्दहवा, धम्बोझी लगायतका ग्रामीण समुदायका सर्वसाधारण लाभान्वित भएका छन् । शिविरमा आँखाको दुखाई, कानबाट पिप बग्ने, पेट दुख्ने, जिउ चिलाउने, महिलाहरुको सेतो पानी बग्ने आदि सम्बन्धी समस्याबाट पीडितहरु बढी आएका सम्बन्धित चिकित्सकले बताए । शिविरमा भेरी अञ्चल अस्पतालका मुटु रोग तथा मधुमेह राग विशेषज्ञ डा. विपिन आचार्य, नेपालगन्ज मेडिकल कलेजका मेडिकल अधिकृत डा. घना केसी, डा. राम बहादुर विष्ट र दीपक जायसवालले स्वास्थ्य परीक्षण गरेका थिए ।


शिविरमा सहयोग गर्नेहरुमा केन्द्रकी उपाध्यक्ष तारा केसी, कोषाध्यक्ष ममता आचार्य, स्वास्थ्यकर्मीद्वय राजेन्द्रकुमार बर्मा र कृष्ण देवकोटा, केन्द्रका नितेश गिरी, ललिता जैसी, रमणकुमार शर्मा, निखिल जायसवाल लगायतले सहयोग गरेका थिए । शिविरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाह, संस्थापक सदस्य विमल प्रधान, प्रधानाध्यापक काफ्ले, शिक्षिकाहरु रेखा शाह, माया गिरी काफ्ले, विजय श्रेष्ठ लगायतको पनि सक्रिय सहयोग रहेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार ०८:१८