सूचनाको शक्ति - The Power Of Information

        

गाउँपालिका जोड्ने पुल नबन्दा थन्कियो एम्बुलेन्स


जुम्ला । सदरमुकाम खलंगादेखि उर्थुचौतारा हुँदै पातारासी गाउँपालिका जोड्ने पुल नबन्दा एम्बुलेन्स थन्किएको छ । जटिल प्रकारका बिरामी बोक्नका लागि एम्बुलेन्स ल्याइएको भए पनि बिरामीलाई डोको र स्ट्रेचरमै बोक्नु परेको स्थानीय बताउँछन् । एम्बुलेन्स खोलावारि थन्किएर बस्दा स्थानीयले निर्माणाधीन पक्की पुल निर्माणको काम सम्पन्न गर्न माग गरेका छन् ।
उनीहरुले तत्काल कामचलाउ पुल बनाएर भए पनि एम्बुलेन्स सेवा सञ्चालन गर्न गाउँपालिकासमक्ष आग्रह गरेका हुन् । खोलावारि एम्बुलेन्स हुँदाहुँदै पनि खोलापारिका बिरामीलाई निकै समस्य हुने गरेको छ । सडक पुगेको भए पनि पुल नबन्दा पातारासी गाउँपालिकाका नागरिकहरु बिरामीलाई स्ट्रेचरमै बोकेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्याउन वाध्य भएको स्थानीय धर्म्सिंह बोहोरा बताउँछन् ।
उनले भने, ‘पातारासी गाउँपालिकाको एम्बुलेन्स सेवाको सपना पूरा हुन सकेको छैन । एम्बुलेन्स ल्याए पनि सेवा नपाउँदा एम्बुलेन्स हुनु र नहुनुको अर्थ नहुने बताए ।’ पुलबिनाको एम्बुलेन्स खोला तर्न सक्दैन, बिरामीलाई बोकेर ल्याउँदा ल्याउँदै बाटोमै ज्यान जानसक्ने खतरा भएको भन्दै अर्का स्थानीय कमला बुढाले भनिन्, ‘सामूहिक प्रयासमा पक्की पुल बन्न जरुरी छ ।’ गाउँपालिकाको एम्बुलेन्स भए पनि अहिले बिरामीले पुरानै अवस्था खेप्नुपरेको स्थानीयको गुनासो छ ।
भारत सरकारको सहयोगमा गाउँपालिकाले पाएको एम्बुलेन्स अबको केही दिनभित्रै सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष लछिमान बोहोराले भने दाबी गरे । उनले भने, ‘यो वर्षको अन्तिमसम्म पुल निर्माणको काम सकिन्छ । उर्थुदेखि लासीसम्मको अप्ठ्यारो बाटो स्तरोन्नति हुँदैछ । उर्थु हुँदै डिल्लीचौर, छुमचौर र पातारासीका बिरामीलाई सेवा दिनका लागि एम्बुलेन्स ल्याइएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार ०७:४६