सूचनाको शक्ति - The Power Of Information

        

अटो रिक्सा भित्रिएपछि आवतजावतमा सहजता


दुर्गा विसी । सल्यान । बनगाड कुपिण्डेको सदरमुकाम सल्लीवजारमा पछिल्लो समय दर्जनबढि अटो रिक्सा भित्रिएका छन् । सल्लीवजारमा अटो रिक्सा आएसँगै वजारमा आवतजावतमा सजिलो हुन थालेको छ । अटो रिक्साले वजारमा किनमेल गर्ने र अप्ठेरो अवस्थामा विरामीलाई अस्पतालसम्म लैजान समेत सहयोगी बनेको छ ।
अटो रिक्सा आएपछि स्थानीयलाई निक्कै सुविधा थपिएको छ । अटो रिक्सा भित्रियो तर ग्रामिण सडकमा स्तरोन्नती नहुँदा अटो रिक्सा ञ्चालकलाई समस्या भएको छ । कच्ची बाटाहरुमा अटो रिक्सामा यात्रुलाई आवतजावत गर्न खतरा देखिन्छ । सामान्य नजिकको दुरी तथा बनगाड कुपिण्डे नगरपालिका र सिम्ता गाउँपालिकाका स्थानीयलाई जुनसुकै समयमा भए पनि सुविधा दिने भएकोले स्थानीय अटो रिक्सालाई भरपर्दो सुविधाका रुपमा लिन थालेका छन् ।
सल्लीवजारमा अटो रिक्सा व्यवसायीहरुको संगठनसमेत निर्माण गरिएको छ । अटो रिक्सा विक्रेता किरण अटो पार्टसका सञ्चालक किरण पाण्डेको अध्यक्षतामा अटो व्यवसायीले समिति गठन गरेका छन् । अटो रिक्सालाई व्यवस्थित र नीतिगत ढंगले सञ्चालन नगर्दा भाडामा समेत स्थानीयले एकरुपता कायम गर्न माग गरेका छन् । स्थानीयका अनुसार दुई किमी बाटोको दुरीमा समेत १ सय रुपैयाँ भाडा लिँदा नागरिकलाई मार परेको बताएको छ ।
अटो रिक्साले सिम्ता क्षेत्र र सल्लीवजारका आसपासका क्षेत्रमा आवतजावतमा सुविधा दिएको छ । सल्लीवजारदेखि आँमखोली, सुर्खेत राकम,जामुने वजार, वालुवा संग्रही, ढोरपिपल लगायतका क्षेत्रमा विशेष रुट कायम गरी सञ्चालन गरिएको छ । नगरका धेरै ग्रामीण वस्ती र मुख्य सडकहरु स्तरोन्नती नहुँदा व्यवसायीमा समेत खासै उपलव्धी नभएको अटो सञ्चालकहरुको गुनासो छ । कच्ची सडकहरुमा दैनिक दिन गुडाउनु पर्दा इन्जिनमा ठुलो असर पार्ने भएकाले भाडा चर्को लिनुपरेको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतवार ०३:४१