सुर्खेत । मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको नियुक्ति भएसँगै प्रदेश ६ मा सरकारलाई पूर्णता दिने कसरत सुरु भएको छ । वाम गठबन्धनका दुवै दल नेकपा एमाले र माओवादी केन्द्र मन्त्री छनौटको कसरतमा लागिसकेका छन् ।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहीको सपथसँगै शुक्रबार नै मन्त्रिपरिषद पनि विस्तार गर्नेगरी दुई दल तयारीमा जुटेका हुन् । एमालेभित्र कसको नेतृत्वमा सरकारमा पठाउने भन्ने छलफल भइरहेको छ । मुख्यमन्त्रीका आकांक्षी प्रकाश ज्वालाको नेतृत्वमा एमालेले सरकारमा पठाउने सम्भावना रहेको एमाले नेताहरु बताउँछन् । तर, ज्वालाकै जिल्ला सल्यानबाट निर्वाचित अर्का सांसद गुलावजंग शाहले आफ्नो नेतृत्वमा पार्टी सरकारमा जानुपर्ने दाबी गर्दै आएका छन् ।
त्यसैगरी, एमालेबाट हुम्लाका दलबहादुर रावत, सुर्खेतका खड्गबहादुर खत्री, दैलेखका अम्मरबहादुर थापा लगायतले पनि मन्त्रीमा दाबी गरिरहेका छन् । प्रकाश ज्वाला सरकारमा नगए दैलेखका अमरबहादुर थापा मन्त्री बन्ने सम्भावना बलियो छ भने कर्णाली क्षेत्रलाई समेट्दा हुम्लाका दल रावलको पनि मन्त्री बन्ने सम्भावना रहेको स्रोतले जनायो । अर्कोतर्फ महिला सांसदहरुले पनि उचित स्थापनको माग गर्दै आएका छन् ।
दैलेखकी मीना रखाल, सुर्खेतकी पद्मा खड्का, डोल्पाकी बद्मी बोहोरा र रुकुम पश्चिमकी देवी वलीले मन्त्री हुने आकांक्षा देखाएका छन् ।महिलाबाट दैलेखकी मिना रखाल वा डोल्पाकी बद्मी बोहोरा मन्त्री हुने सम्भावना रहेको बताइन्छ । यस्तै, मुख्यमन्त्री पाएको माओवादी केन्द्रबाट जुम्लाका नरेश भण्डारी मन्त्री बन्ने लगभग पक्काजस्तै भएको छ । मुख्यमन्त्रीको दाबी गर्दै आएका उनले अन्तिममा महेन्द्रबहादुर शाहीलाई समर्थन गरेका थिए । माओवादीबाट भण्डारी मन्त्री बन्ने पक्काजस्तै भए पनि अरु नाममा समेत छलफल भइरहेको छ ।
माओवादी स्रोतका अनुसार सुर्खेतका विन्दमान विष्ट, सिता नेपाली र पश्चिम रुकुमकी विमला केसी मन्त्री बन्ने चर्चा छ । माओवादीलाई दुई जना मन्त्री दिने सहमति भएको जनाइएको छ । जसमा नरेश भण्डारीबाहेक महिला पठाउँदा रुकुमकी विमला केसी र महिला नपठाएको खण्डमा सुर्खेतका विन्दमान विष्ट मन्त्री बन्ने माओवादीका एक सांसदले जनाए । एमाले र माओवादी दुवै संसदीय दलका नेताले भने नाममाथि टुंगो नलागेको भन्दै अहिल्यै भन्न नमिल्ने बताएका छन् ।
।