सूचनाको शक्ति - The Power Of Information

        

बुटवल उपमहानगरमा इबीपीएस सेवा शुभारम्भ


रेनुका गिरी । बुटवल । बुटवल उप–महानगरपालिकाले घर नक्साका कामहरु अब अनलाइनबाट गर्ने भएको छ । नयाँ प्रविधिको यो सेवा नगरको ५९ औं स्थापना दिवसका अवसरमा बिहीबारदेखि शुभारम्भ भएको हो । उपमहानगरपालिका कार्यालय परिसरमा बिहीबार स्थापना दिवस मनाइएको थियो । सोही क्रममा प्रदेशसभाका माननीय सदस्य लिला गिरीले उक्त नयाँ प्रविधिको शुभारम्भ गराएका थिए ।
त्यसक्रममा प्रमुख अतिथि गिरीले सेवाग्राहीका कामहरु सहज र छरितो बनाउनेतर्फ प्रविधिको उच्चतम प्रयोगमा जोड दिए । उनले कुनै पनि सेवाग्रहीले अनावश्यक सास्ती खेप्न नपर्नेगरी सेवा प्रवाह गर्नपनि सम्बन्धित अधिकारीहरुलाई आग्रह गरे । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जनप्रतिनिधिका रुपमा चुनिएर आएपछि नगरको समग्र विकासमै केन्द्रित भएको र योजनाबद्ध कामहरु गरिरहेको जानकारी गराए ।
उनले आवधिक र दीर्घकालिन महत्वका योजनाहरुमा विभिन्न विषयहरु समावेश गरिएको जानकारी दिंदै ती योजनाहरुलाई सफल बनाउन सबैको सहकार्यको खाँचो रहेको बताए । उपप्रमुख गुमादेवी आचार्यले सुशासनको अनुभूति दिलाउने गरी आफुहरु काममा केन्द्रित भएको भन्दै प्रचार भन्दा पनि योजनाबद्ध कामहरुलाई प्राथमिकता दिइएको बताइन् । उपप्रमुख आचार्यले न्यायसम्पादनका कामहरुलाई सहज बनाउन व्यवस्थित इजलाशको समेत व्यवस्था गरिएको बताउँदै सहकार्यमा उपमहानगरको विकास हुनेमा आफुहरु विश्वस्त रहेको बताइन् ।
सो अवसरमा बोल्ने वक्ताहरुले जनप्रतिनिधिहरु चुनिएपछिको फरकपन नगरबासीहरुले गरिरहेको भन्दै अब कुनै पनि ढिलासुस्ती नगरी योजनाका काममा केन्द्रित हुन सुझाव दिएका थिए । स्थानीय तहलाई अब निर्धक्क भएर काममा केन्द्रित हुन वक्ताहरुले सुझाव दिए । कार्यक्रममा प्रदेशसभाका माननीय सदस्य तथा बुटवलका पूर्वमेयर भोजप्रसाद श्रेष्ठले बुटवलको विकासमा आफुहरुले सहकार्य गर्ने बताए ।
राष्ट्रियसभाका पूर्व सदस्य देवेन्द्र घिमिरेले बुटवल मुलुककै केन्द्रका रुपमा विकास भइरहेको भन्दै जनप्रतिनिधिहरुलाई सफलताको शुभकामना दिए । नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरीले आफुहरुले रचनात्मक काममा सहयोग र सहकार्य गर्ने तथा केही कमजोरी देखिएमा तत्कालै खबरदारी गरिने उल्लेख गरे । त्यस्तै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले नगरबासीमा सुशासनको अनुभूति दिलाउँदै प्रेस स्वतन्त्रताका पक्षमा गरिएका प्रतिबद्धताहरुलाई व्यवहारिक बनाउन आग्रह गरे । कञ्चन गाउँपालिकाका प्रमुख गोकर्णराज क्षेत्रीले अरु स्थानीय तहहरुसंग पनि सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे ।

विभिन्न व्यक्तिहरु सम्मानित
बुटवल उपमहानगरपालिकाले स्थापना दिवसका अवसरमा यसपाली पनि विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । उत्कृष्ट करदाता,हरु, उत्कृष्ट उपभोक्ता समितिहरु, उत्कृष्ट खेलाडीहरु, अपाङ्गता भएका खेलाडीहरु, विद्यार्थीहरु, बाल क्लबहरु, स्वास्थ्य स्वयम्सेवीहरु, कर्मचारीहरु, स्वास्थ्य शिविरमा सहयोग गर्ने चिकित्सकहरु, बुद्धाआश्रम सञ्चालक, पुष्प व्यवसायी तथा रक्तदाताहरु लगायतलाई नगद र प्रशंसा पत्रसहित सम्मान गरिएको उपमहानगरपालिकाका प्रशासकीय अधिकृत भरतमणी पाण्डेले जानकारी दिए । उपमहानगरका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले कर्मचारीहरुको कार्यसम्पादन, लगनशिलता, श्रेष्ठताका आधारमा समितिमार्फत मूल्यांकन गरेर छनौट गरिएको जानकारी दिए ।

के हो इबीपीएस ?
काठमाडौ, भक्तपुर र ललितपुर पछि बुटवलमा सुरु भएको यो प्रणाली लागू भएपछि नक्सा सम्बन्धी कामहरुको सबै रेकर्ड अनलाइनमा रहने छ । नगरले दर्ता रहेका सेवाग्राही र परामर्शदाता (कन्सलटेन्ट) हरुलाई (जसले भवनको नक्शाको काम गरिरहेका छन्) समेत यस विषयमा तालिम थप दिने छ । उनीहरुले सेवाग्राहीका कामहरु अनलाइनमै गर्नेछन र फाइलका चाँग बोकेर नगरमा धाइरहनुपर्ने छैन् ।
पहिले नक्सा पास भइसकेका फाइलहरुलाई पनि नगरले विस्तारै यहीँ सिस्टमा केन्द्रित गर्नेगरी तयारी गरिरहेको उपमहानगरपालिकाका योजना प्रमुख ई.सुमन श्रेष्ठले बताए । पुराना फाइलहरुलाई गोदाम व्यवस्थापन ‘अर्काइभ’ गरेर एउटै सिस्टममा ल्याउने तयारी स्वरुप नयाँ सफ्टवेयरको काम भइरहेको अर्का इन्जिनियर तथा नक्सा शाखाका अधिकारी ज्ञानप्रसाद अर्याले जानकारी दिए । यो कामका लागि इन्जिनियर सन्तोष पाण्डे नेतृत्वको टिमले केही दिनदेखि नै नगरमा तयारी र परीक्षण गरिरहेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ०४:५८